Comments Add Comment

जलवायुसम्बन्धी शिखर सम्मेलनमा अमेरिकाले किन बोलाएन नेपाललाई ?

अमेरिकी राष्ट्रपति जो बाइडन

१९ चैत, काठमाडौं । अप्रिल २२ र २३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दैछन् ।

बाइडनले ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई सो कार्यक्रमको लागि निम्तो पठाएका छन् । दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ । भर्चुअल माध्यमबाट हुने सो सम्मेलनको सामाजिक सन्जालमार्फत् प्रत्यक्ष प्रसारण हुने छ ।

ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री लोत्ते छिरिङ सो सम्मेलनमा सहभागी हुनेछन् ।

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङ पनि सो कार्यक्रममा सहभागी हुने छन् ।

तर, नेपाललाई भने सो शिखर सम्मेलनको निम्तो दिइएको छैन । भारत, भुटान र बंगलादेशबाहेक अन्य मुलुकले पनि निम्तो पाएका छैनन् ।

जलवायु परिवर्तन सम्बन्धी हरेक मुद्दामा नेपाल जोडिएको छ भने पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी कतिपय मुद्दामा नेतृत्व समेत लिएको छ । त्यस हिसाबले नेपाल प्राथमिकतामा पर्नु पर्ने हो तर किन परेन भन्ने प्रश्न उत्पन्न भएको छ ।

सो शिखर सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको सम्बन्धमा सोधिएको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची आलेनले अहिले हुन लागेको सम्मेलन कोप–२६ भन्दा अगाडि हुन लागेका विभिन्न कार्यक्रमहरुमध्ये एक भएको बताइन् ।

‘हामी जलवायु परिवर्तनका मुद्दामा नेपालसँग सहकार्य गर्न तयार छौं । नेपालले गर्ने सगरमाथा संवादमा हामी सहभागी हुने छौ,’ उनले भनिन्, ‘हामीलाई थाहा छ जलवायु परिवर्तनको विषयमा नेपालले नेतृत्व लिएको छ र हाम्रो साझा भविश्यका लागि हामी मिलेर काम गर्न चाहन्छौं ।’

ह्वाइट हाउसले सो सम्मेलनमा सहभागी हुने ४० वटा देशका प्रतिनिधिहरुको नाम नै सार्वजनिक गरेको छ तर त्यसमा नेपाल परेको छैन । यस अगाडि नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरीले नेपालले गर्न लागेको सगरमाथा संवादका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

यसका साथै जलवायु सम्बन्धी अन्य क्षेत्रमा समेत मिलेर काम गर्न तयार रहेको राजदूतले नेपाली नेताहरुलाई बताएका थिए । विशेषतः हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न अमेरिका नेपालसँग मिलेर काम गर्न तयार रहेको अमेरिकी राजदूतले बताएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बाइडनले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने निर्णय गरेका छन् । उनले जलवायु परिवर्तनको असर कम गर्नका लागि विश्वभर विभिन्न परियोजनाहरु समेत अगाडि बढाएका छन् ।

यस अगाडिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट हात झिकेका थए । त्यसपछि यो मुद्दामा विश्वव्यापी नेतृत्व नै खड्किएको थियो ।

नोभेम्बर महिनामा हुन लागेको कोप–२६ को पूर्वसन्ध्यामा हुन लागेको विश्वका नेताहरुको सो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ । नेपालले पनि कोप–२६ भन्दा अगाडि नै सगरमाथा संवाद आयोजना गर्ने विषयमा छलफल अगाडि बढाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विश्वका नेताहरुको सो सम्मेलनमा जलवायु परिवर्तनको विषयमा बलियो नेतृत्व लिएका मुलुक, जलवायु परिवर्तनको हिसाबले एकदमै संवेदनशील अबस्थामा रहेका मुलुकहरु र जलवायु परिवर्तनको असर कम गर्न नयाँ कदम चालेका मुलुकहरुलाई आमन्त्रण गरिएको छ । केही व्यापारी र नागरिक समाजका व्यक्तिहरु समेत सो सम्मेलनमा सहभागी हुने छन् । यतिवेला विश्वको ध्यान विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा राख्नेमा छ । अमेरिकाले गर्न लागेको सम्मेलन र कोप–२६ को मूल उद्देश्य पनि यही हो ।

सो सम्मेलनमा अमेरिकाले सन् २०३० सम्म प्राप्त गर्ने कार्बन उत्सर्जन सम्बन्धी नयाँ लक्ष्यको समेत घोषणा गर्नेछ । शिखर सम्मेलनमा सहभागी हुन पठाएको निम्तोमा अमेरिकी राष्ट्रपति जो बाइडनले सरकार र राष्ट्र प्रमुखलाई आ–आफ्नो मुलुकको लक्ष्य प्रस्तुत गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment