+
+
Shares

अमेरिका-चीनबीच ‘एआई संवाद’ को तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका र चीनले एआईका सम्भावित जोखिम र राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद संयन्त्र बनाउने प्रस्तावमा न्युयोर्कमा आठ घण्टा वार्ता गरेका छन्।
  • अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले व्यापार र एआईमा ‘धेरै सफल संवाद’ भएको बताउँदै दुवै पक्षले थप छलफल गर्ने सहमति जनाएको बताए।
  • वार्तामा केही वस्तुमा पारस्परिक शुल्क घटाउने, गैर–संवेदनशील वस्तु अलग राख्ने र दुर्लभ पृथ्वीका चुम्बक तथा महत्त्वपूर्ण खनिज आपूर्ति निरन्तर राख्ने विषय पनि छलफल भएको छ।

५ असोज,  न्युयोर्क (रासस/एएफपी) ।  अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता हुने अपेक्षित शिखर बैठकअघि दुवै देशका आर्थिक अधिकारीबीच भएको वार्तामा यस्तो प्रस्ताव अघि बढेको हो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा वार्ता भएको थियो । वार्तापछि बेसेन्टले व्यापार र एआईका विषयमा दुवै पक्षबीच ‘धेरै सफल संवाद’ भएको बताए।

उनका अनुसार प्रस्तावित ‘अमेरिका–चीन एआई संवाद’ अन्तर्गत एआईसँग सम्बन्धित सम्भावित घटना वा राष्ट्रिय सुरक्षासम्म पुग्न सक्ने जोखिमबारे एकअर्कालाई जानकारी गराउने संयन्त्र बनाइनेछ । दुवै पक्षले यस विषयमा थप छलफल गर्न सहमति जनाएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले वार्तालाई ‘स्पष्ट, गहन र रचनात्मक’ भनेको छ । सिन्ह्वाका अनुसार दुवै पक्षले द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धन तथा अघिल्ला सहमतिहरू कार्यान्वयनलगायत विषयमा छलफल गरेका छन् । बैठकमा चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङ्गाङ पनि सहभागी थिए।

वार्तामा केही वस्तुमा पारस्परिक शुल्क घटाउने तथा ‘गैर–संवेदनशील’ वस्तुलाई व्यापारसम्बन्धी प्रतिबन्धबाट अलग राख्ने विषयमा पनि छलफल भएको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताए। दुर्लभ पृथ्वीका चुम्बक र महत्त्वपूर्ण खनिजको आपूर्ति निरन्तर कायम राख्ने विषय पनि अमेरिकी पक्षको प्राथमिकतामा रहेको छ ।

यसअघि चीनले अमेरिकी कृषि सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसको कार्यान्वयन तथा इरानमाथि अमेरिकी आर्थिक दबाब पनि छलफलका विषय बन्न सक्ने बताइएको छ ।

यसैबीच, अमेरिकी पूर्व उपसचिव कर्ट क्याम्पबेलले ट्रम्प–सी शिखर बैठकबाट तत्काल ठूलो उपलब्धिको अपेक्षा गर्नुभन्दा व्यापार युद्धविराम कायम रहने सम्भावनालाई ध्यान दिनुपर्ने बताएका छन् । ट्रम्प र सीले नोभेम्बरमा चीनको शेन्जेनमा हुने एपेक मञ्चमा तथा डिसेम्बरमा मियामीमा हुने जी–२० शिखर सम्मेलनमा भेट गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?