
१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको अर्थतन्त्रमा सुधारको लागि २३ खर्ब डलरको लगानीको योजना अघि सारेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण आर्थिक वृद्धिदर कमजोर बनेको अवस्थामा त्यसलाई सुधार गर्ने उद्देश्यले लगानीको यो योजना ल्याइएको हो ।
बाइडनको योजनामा पूर्वाधार विकास र जलवायु परिवर्तन नियन्त्रणलाई ध्यानमा राखिएको छ । जसअनुसार अर्बौं डलर चार्जिङ स्टेशन, यातायात, उत्पादन, अनुसन्धान लगायत क्षेत्रमा खर्च गरिनेछ ।
यसकासाथै यसमा व्यावसायिक कर बढाउने योजना पनि सामेल छ । तर, लगानीको यो योजना कार्यान्वयनमा आउन अमेरिकाको संसद्बाट पारित हुनुपर्छ ।
यता, विपक्षीहरुले भने बाइडनले अघि सारेको योजनाको विरोध गर्दै आएका छन् । रिपब्लिकन पार्टीका सांसदहरुले यो योजना ‘यथास्थिति र गिरावट को रेसिपी’ भएको टिप्पणी गरेका छन् ।
बाइडनको व्यावसायिक कर बढाउने योजनाले धेरैको रोजगारी गुम्ने र तलबको वृद्धि पनि निकै कम हुने उनीहरुको आशंका छ । अमेरिकाका ठूला व्यावसायिक क्षेत्रले पनि बाइडनको योजना राम्रो भए पनि कर बढाउने योजनाको विरोध गरेको छ ।
केही समयअघि बाइडनले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट समस्यामा परेको अर्थतन्त्रलाई उकास्न भन्दै १९ खर्ब डलरको राहत प्याकेज ल्याएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4