Comments Add Comment

आयात कोटाले माग नधानेपछि गहनाको अग्रिम बुकिङ प्रभावित

व्यवसायीले फर्काउन थाले ग्राहक

फाइल तस्वीर

१९ चैत, काठमाडौं । नेपाली बजारमा कच्चा सुनको चरम अभाव भएपछि गहनाको अग्रिम बुकिङ प्रभावित भएको छ । ग्राहकको माग अनुसारको सुन उपलब्ध नभएपछि वैशाखको लगनका लागि सुनको अग्रिम खरिद गर्न बजार पुगेका ग्राहकहरु फर्काउन थालिएको व्यवसायीहरुले बताएका छन् ।

वैशाखको १० गतेबाट सुरु हुने बिहेको लगनका लागि अग्रिम अर्डर लिन नसकिएको र आएका ग्राहकलाई फर्काउनु पर्ने अवस्था आएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । वैशाखको लागि भन्दै अहिले दैनिक ३५ देखि ४० किलो सुनको माग भएपनि बजारमा दैनिक १० किलो मात्रै सुन आयात भएको अध्यक्ष शाक्यले बताए ।

‘दैनिक माग भन्दा आयातको हिस्सा ३० किलो कम भएपछि कसरी उपभोक्ताले सुन पाउँछन् ? सरकारले तत्काल कोटा नबढाए वैशाखमा धेरै ग्राहकले सुन नपाउने अवस्था आउन सक्छ,’ अध्यक्ष शाक्यले भने । ग्राहकले चाहेअनुसारको सुन समयमै दिन सकिने/नसकिने अन्यौलकै कारण ग्राहकहरुको अर्डर चाहेर पनि लिन नसकिएको उनको भनाइ छ । ‘यो समस्या मेरो आफ्नै मात्रै होइन, देशभरका २५ हजार सुन व्यवसायीको हो । व्यवसायी साथीहरुले सुनको अर्डर क्यान्सिल गर्न थालेको जानकारी महासंघमा गराएका छन्,’ अध्यक्ष शाक्यले भने ।

झण्डै एक वर्ष पछि सुनको व्यापार पुरानै अवस्थामा फर्कीन खोजे पनि सरकारकै अवरोधका कारण उपभोक्ता र व्यवसायीले दुःख पाएको महासंघका महासचिव धर्म सुन्दर बर्जाचार्यले बताए । गत वर्ष लकडाउनपछि पहिलो पटक सुनको खपत दैनिक ४० किलो भन्दा माथि पुगेको तर बजारमा सुनको आयात कोटा माग भन्दा ३० किलोले कम रहेको बज्राचार्यको भनाइ छ । ‘बजार अहिले अर्डरमय छ तर ग्राहकलाई बिक्री गर्न हामीसँग सुन छैन,’ महासचिव बज्राचार्यले भने । सुनको भाउमा आएको सामान्य गिरावट र रेडिमेट भन्दा पनि आफ्नै रोजाईमा सुन बनाउन चाहने ग्राहकले सुन नपाएको उनको भनाइ छ ।

सरकारले कोटा बढाउन अलमल गर्‍यो

सुनको मुख्य सिजनलाई लक्षित गर्दै कोटा बढाउन एक महिनादेखि सरकारी निकायलाई आग्रह गरिए पनि सुनुवाइ नभएको महासंघले जनाएको छ । राष्ट्र बैंक,वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयलाई सुनको कोटा बढाउन पटक पटक आग्रह गरिएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । लामो समयपछि सुन बजारमा पुनः उल्लास देखेर दैनिक आयात कोटा ३० किलो पुर्‍याउन आग्रह गरिएको उनले बताए । ‘मन्त्री, सचिव, गर्भनर सबैलाई एक महिदेखि दैलोमै पुगेर हात जोडेका छौं तर कोटा बढाउन अलमल गरिएको छ,’ अध्यक्ष शाक्यले भने । पछिल्लो पटक वाणिज्यमा सोधखोज गर्दा मन्त्रालयले निर्णय गरेर राष्ट्र बैंकमा पठाएको जानकारी आएको तर निर्णय भने नभएको महासंघले जनाएको छ ।

कोटा बढाउन किन अलमल ?

कोरोना महामारीका कारण विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै गतवर्ष चैतमा सरकारले सुन आयातको कोटामा आधीले कटौती गरेको थियो । सिजनको बेला दैनिक २५ र अफसिजनमा २० किलो आयात हुने सुनको कोटालाई १० किलोमा झारिएको थियो तर महामारीपछि बजार पुरानै अवस्थामा फर्कीएपछि व्यवसायीले सुनको कोटा बढाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

गत मंसिरदेखिनै सुनको कोटा वृद्धि गर्न सरकारी निकायलाई भनिए पनि सुनुवाइ नभएको व्यवसायीको गुनासो थियो । सुनको कोटा बढाउने विषयमा छलफल मात्रै भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बजारमा सुनको अभाव भएको बारे राष्ट्र बैंक जानकार रहेको तर कोटा वृद्धिको निर्णय भने भइनसकेको राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख रामु पौडेलले बताए । ‘बजारको समस्या हामीले बुझेका छौं, कोटा वृद्धिबारे छलफल भएको छ तर निर्णय भएको छैन,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment