Comments Add Comment

एक महिनामा भित्रिए १५ हजार विदेशी पर्यटक

१९ चैत, कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्यांकअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुईजना पुरुष र तीन हजार ९६३ महिला र १२ अन्य नागरिक रहेका छन् ।

विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा ६ हजार १६९ पुरुष, एक हजार ४७७ महिला र १२ अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट एक हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । जसमा एक हजार २९ पुरुष र १७८ महिला छन् ।

एक महिनामा अमेरिकाबाट एक हजार ५६ पुरुष र ६४७ महिला गरी एक हजार ७०३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्यांकअनुसार गत जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै पाँच हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी एक महिनामा नौ हजार ५८७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । जसमा ६ हजार ६६३ पुरुष, दुई हजार ९१३ महिला र ११ अन्य नागरिक रहेका छन् । यस्तै एक महिनामा ४९ हजार पाँच नेपाली विदेश गएका छन् । जसमा ४० हजार ५६ पुरुष, आठ हजार ८४८ महिला र एक अन्य नागरिक रहेका छन् ।

एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment