Comments Add Comment

कैलालीमा तोरीको उत्पादन बढ्यो, किसानमा खुशीयाली   

फाइल तस्वीर : तोरीबारी ।

२० चैत, टीकापुर । कैलालीमा तोरीको उत्पादन गत वर्षभन्दा दोब्बरले बढेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार यस वर्ष मौसम अनुकुल भएका कारण उत्पादन बढेको हो ।

‘गत वर्ष प्रतिहेक्टर छ क्वीन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्वीन्टलसम्म उत्पादन भएको छ’, उनले भने, ‘गत वर्ष हिउँदमा अधिक वर्षा हुँदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसम अनुकुल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।’ यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ ।

कैलालीको जानकी गाउँपालिकाका किसान सन्देश चौधरीले यस वर्ष १२ क्वीन्टल तोरी बिक्री गरे । प्रतिक्वीन्टल १० हजार रुपैयाँका दरले बिक्री गरेका सन्देशले एक लाख २० हजार रुपैयाँ आम्दानी गरे ।

‘चार बिघा जमीनमा तोरीखेती गरेको थिएँ । तोरी राम्रो उत्पादन भयो’, उनले भने, ‘घरमा आवश्यक तोरी राखेर बाँकी बिक्री गरेँ । यस वर्ष तोरीखेतीले सन्तुष्टि दिएको छ ।’

सन्देश जस्तै तोरीखेती गरेका अन्य किसान पनि उत्पादन बढेपछि र बजार मूल्य राम्रो पाएपछि खुशी भएका छन् । तोरीखेती स्याहारेका  किसानले  हिजोआज त्यही तोरीबारीमा छरेको मुसुरो स्याहार्न थालेका छन् । गत वर्ष उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउनसमेत कठिन भएको थियो । कैलालीका मिल सञ्चालकले यस वर्ष भने अहिलेदेखि नै तोरी भण्डारण गरिसकेका छन् ।

‘गत वर्ष हामीले तेल बिक्रीका लागि तोरी पाएनौँ, तेल पेलेर बिक्री गर्ने मिलमा कारोबारसमेत भएन । प्रतिलिटर २०० रुपैयाँमा बिक्री हुने तेल तोरी अभाव भएपछि २५० मा बिक्री गर्दा पनि अभाव भयो’, मिल सञ्चालक रवीन्द्र धामीले भने, ‘यस वर्ष एक गोदाम भण्डारण गरेको छु । मेरो त व्यवसाय नै तोरीको तेल बिक्री गर्ने हो । पछि अभाव हुन्छ भन्ने डरले भण्डारण बढाएको छु ।’

कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भर पर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ ।

‘तोरीखेतीको उत्पादकत्व बढाउन नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगले समेत प्रभाव पार्छ’ उनले भने, ‘पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment