Comments Add Comment

भारतमा कोरोनाको दोस्रो लहरको सकस

२० चैत, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ८१ हजारभन्दा धेरै संक्रमित फेला परेको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या गत अक्टोबर २ यताकै सबैभन्दा उच्च हो । भारतमा सेप्टेम्बरको मध्यमा उच्च बिन्दुमा पुगेको संक्रमण त्यसपछि भने घट्न थालेको थियो । तर, यो क्रम फेब्रुअरीको मध्यसम्म मात्र कायम रह्यो । त्यसयता भारतमा दैनिक नयाँ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ ।

भारतमा कोरोना संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा फैलिएको छ । यो राज्यमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला पर्दा २४९ जना संक्रमितको मृत्यु भएको छ । यो राज्य भारतमा सबैभन्दा धेरै नयाँ संक्रमित फेला पर्ने मात्र नभई सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भइरहेको राज्य पनि हो । यद्यपि कर्नाटक, छत्तीसगढ जस्ता राज्यमा पनि उल्लेख्य मात्रामा कोरोना संक्रमण बढिरहेको छ ।

बिस्तारै संक्रमण नियन्त्रणको दिशातर्फ उन्मुख हुँदै गएको बेला नयाँ लहर फैलिएसँगै अहिले मानिसहरुमा कोरोनाको डर त बढेको छ नै, सरकारलाई पनि कोरोना नियन्त्रणको चुनौती बढेको छ ।

भारतमा कसरी फैलियो कोरोनाको नयाँ लहर ?

भारतमा केरोना संक्रमण बढ्नुको एक कारण मानिसहरुले कोरोना नियन्त्रणका लागि आवश्यक मापदण्ड पालना नगर्नु हो । कोरोनाको पहिलो लहरमा जस्तो सतर्कता मानिसहरुले दोस्रो लहरमा देखाएका छैनन् । अहिले मानिसहरुले मास्क लगाउने, बारम्बार हात धुने र भौतिक दूरी कायम राख्नेजस्ता मापदण्ड पालना गर्न छाडिसके ।

भारतमा कोरोना संक्रमण घट्दो क्रममा देखिँदा मानिसहरुले यसलाई कोरोनाको अन्त्य भएको सम्झिएको र संक्रमण बढाउन यो सहायकसिद्ध भएको भारतीय विशेषज्ञ बताउँछन् । सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध हटेसँगै ठूलो भेला, पार्टी तथा अन्य समारोह हुन थाले । यी समारोहमा धेरैले मास्कसमेत लगाउँदैनथे ।

बीबीसीसँगको अन्तर्वार्तामा भारतको महाराष्ट्रका चिकित्सक शशंक जोशीले भने, ‘कोरोनाको समयमा जस्तो व्यवहार हुनुपर्ने थियो, त्यो नहुनु र परीक्षणमा कमी आउनु नै पहिला संक्रमणको चपेटामा नपरेका क्षेत्रमा अहिले संक्रमण बढ्नुको कारण हो ।’

भारतमा कोरोना संक्रमण बढ्नुमा सरकारको पनि केही कमजोरी छ । कोरोना नियन्त्रणको दिशामा आइरहेको समयमा प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचन प्रचार तथा अन्य समारोहमा भाग लिन मुलुकको विभिन्न भागमा गए । जहाँ भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले गम्भीर भएर कोरोना नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना गरेनन् । विभिन्न राज्यमा भएको निर्वाचनमा पनि कडाइका साथ मापदण्ड पालना गराइएन ।

शहरी क्षेत्रको गतिविधि भारतमा नयाँ संक्रमण फैलिनुको अर्को कारण हो । भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै भारतका मुख्य शहरमा छन् ।

भारतीय शहरमा हुने अत्याधिक चहलपहलको कारण कोरोना संक्रमणले पनि फैलिने मौका पायो । भारतमा फैलिएको कोरोनाको दोस्रो लहरबाट मुम्बई, पुणे, नागपुर, बैंग्लोर र दिल्लीजस्ता शहर धेरै प्रभावित भएका छन् ।

मानवीय कारणबाहेक कोरोनाले बदलिरहेको स्वरुप परिवर्तन पनि संक्रमण बढ्नुको अर्को कारण हो । केही समयअघि भारतको स्वास्थ्य मन्त्रालयले एउटै भाइरसमा दुईपटक स्वरुप परिवर्तन भएको पाइएको बताएको थियो ।

आशंका

भारतमा कोरोनाको दोस्रो लहर बढ्दो क्रममा देखिएसँगै यसले ल्याउन सक्ने स्वास्थ्य समस्याका साथै सामाजिक गतिविधिमा प्रतिबन्धको डर अहिले मानिसहरुमा देखिएको छ । गत वर्ष लकडाउनको कारण लामो समयसम्म आफ्नो कामबाट वञ्चित रहेका वा नोक्सानीको सामना गरेका मानिसलाई अब पुनः लकडाउन हुन्छ कि भन्ने डरले सताउन थालेको छ । भारतका प्रमुख शहरमा काम गरिरहेका मानिसहरु पनि अब हुने लकडाउन थेग्न नसक्ने बताउँछन् ।

त्यसो त सरकारले पनि गत वर्षको जस्तो कडा लकडाउन अब नहुने स्पष्ट पारिसकेको छ । तर, संक्रमण नियन्त्रणका लागि सामाजिक गतिविधिमा गर्नुपर्ने आवश्यक कडाइ भने जारी रहने सरकारले बताइसकेको छ । संक्रमण नियन्त्रणको लागि भारतको महाराष्ट्रको सरकारले केही समयमा रात्रीकालीन कफ्र्युको पनि घोषणा गरिसकेको छ । यद्यपि दिउँसो भने यी शहरमा निकै भिडभाडयुक्त रहने गरेको भन्दै विशेषज्ञहरुले भने चिन्ता व्यक्त गरेका छन् ।

खोप अभियान

भारतमा फैलिएको कोरोना संक्रमणको नयाँ लहरलाई ध्यानमा राख्दै सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ । जसअनुसार बिहीबारबाट भारतले ४५ वर्ष वा सोभन्दा बढी उमेर समूहका मानिसलाई पनि कोरोना खोप दिन थालेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेमा ९० प्रतिशत ४५ वर्षभन्दा बढी उमेरका छन् । ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप पु¥याउन सके मुलुकमा कोरोना संक्रमण निकै कम हुने भारत सरकारको विश्वास छ । अहिलेसम्म भारतमा कम्तीमा एक डोज कोरोना खोप लगाउनेको संख्या पाँच करोड ९१ लाखभन्दा बढी पुगेको छ भने समग्रमा ६ करोड ८७ लाखभन्दा बढीले दुवै डोज खोप पाइसकेका छन् ।

भारतले मुलुकमा खोप अभाव नहोस् भनेर निर्यातमा पनि कडाइ गरेको छ । भारतले जुलाईसम्ममा फ्रन्टलाइन वर्कर तथा कोरोनाको जोखिम धेरै भएका ३० करोड मानिसलाई कोरोना खोप पु¥याउने लक्ष्य राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment