+
+
Shares

बाँकेको नरैनापुरमा १२० घर जले, जुम्लाको तिलामा पनि आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते ८:११
बाँकेको नरैनापुरमा लागेको आगो

२२ चैत, काठमाडौं । बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।

नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले अनलाइनखबरसँग भने, ‘मुचुल्का उठाउन त बाँकी छ तर आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरेका छौं ।’ आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो ।

स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।

जुम्लामा आगलागी हुँदा ३५ घर नष्ट

यसैगरी राष्ट्रिय समाचार समिति (रासस)का अनुसार जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, ‘आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।’

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?