Comments Add Comment

नेपाल चेम्बर अफ कमर्समा ५५ सदस्यीय कार्यसमिति निर्विरोध चयन

अध्यक्षमा मल्लको पक्का पक्की

२२ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ५५ सदस्यीय कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका छन् । चैत २८ गते हुने निर्वाचनका लागि ५५ पदमा ६१ जनाको उम्मेदवारी परेकोमा सहमतिमै ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै कार्यसमिति सदस्य सर्वसम्मत भएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

चेम्बरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचनामा पनि ५५ पदमा ५५ जनाको मात्रै उम्मेदवारी परेको उललेख छ ।

‘बुधबार साँझसम्म ५५ पदका लागि ६२ जनाको उम्मेदवारी परेकोमा बिहीबार सहमतिमै बाँकी ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति सदस्य सर्वसम्मत भयो,’ अध्यक्ष श्रेष्ठले भने ।

चेम्बरको विधानअनुसार कार्यसमिति सदस्यले मतदानमार्फत पदाधिकारी चयन गर्ने र पदाधिकारीमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको श्रेष्ठले बताए । चेम्बरकाअनुसार वाणिज्यतर्फ १५, उद्योगतर्फ ९, जिल्लातर्फ १५ पद निर्विरोध निर्वाचित भए । यस्तै नगरतर्फको १, वस्तुगत संघतर्फ ९ र द्वि-राष्ट्रिय संस्थागततर्फ ३ तथा आबद्धतर्फ पनि ३ पद सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्षमा मल्ल मात्रै

कार्यसमिति सदस्य सर्वसम्मत भएसँगै अध्यक्ष र वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष पदमा पनि निर्विरोध निर्वाचित हुने सम्भावना बढेको अध्यक्ष श्रेष्ठले बताए । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षको प्रत्यासी हुने विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल एक्लो उम्मेदवार रहेको श्रेष्ठले बताए ।

‘कोभिड-१९ को बेला छ, निर्वाचन गरेर भिडभाड किन गर्ने हामी सबै पदमा सर्वसम्मति खोज्दै छौं,’ अध्यक्ष श्रेष्ठले भने । वरिष्ठ उपाध्यक्ष मल्लले पनि चेम्बरका सबै पद सर्वसम्मत चयनको सम्भावना रहेको बताए । ‘कार्यसमिति मिल्यो, अब बाँकी पद पनि मिल्छ तर निर्विरोध भएको घोषणा गर्न २८ गते त कुर्नै पर्छ,’ उनले भने । बन्दसत्र सकिएको कार्यसमितिको पहिलो बैठकबाट वरिष्ठ उपाध्यक्ष/उपाध्यक्ष छनोट गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment