
४ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि (आईटी) उद्योग विस्तार गर्न लगानी सहजीकरण गर्ने भएको छ ।
सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले पनि आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो ।
आईटी, सफ्टवेयर एन्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आईटी उद्योगमा लगानी खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्ने जनाएको हो । चेम्बरले यसका लागि आईटी उद्यमीहरूसँग एक चरण छलफल समेत गरिसकेको छ ।
चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए ।
‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत अब आईटी उद्योग हो, सरकारले पनि आगामी एक दशकमा वार्षिक ३० खर्ब भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ,’ अग्रवालले भने, ‘आईटी उद्योगको विकासका लागि लगानी जुटाउनेदेखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्ने छ ।’
सर्वसाधारणको लगानी जुटाएर आईटी उद्योग स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाइ छ । अन्तर्राष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसर खोजी गरिनुपर्ने उनको भनाइ छ ।
नेपाली युवालाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्नेसमेत अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा कम्पनी खडा गरेर आईटी उद्योग विकासमा लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय ठुल्ठूला कम्पनीको व्याकअपका रूपमा स्वदेशमै बसेर काम गर्न सकिने उनको भनाइ छ ।
चेम्बरको आईटी सफ्वेयर उन्ड टेक्नोलोजी कमिटी सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । युवाको नवप्रर्वतन आइडिया र सोच सार्थक बनाउन लगानी पहुँच वृद्धि गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4