Comments Add Comment

भारतमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

२२ चैत, काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित बीजापुरमा शनिबार माओवादीसँग भएको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतीय सेनाले दिएको जानकारीअनुसार एक जना अझै बेपत्ता छन् ।

शनिबारको भिडन्तमा ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । भिडन्तपछि माओवादी लडाकुले हतियार, बुलेटप्रुफ ज्याकेट र सैनिकको बुटसमेत लुटेर भागेको अधिकारीहरुले बताएका छन् ।

भारतले पछिल्लो केही समययता मुलुकमा नक्सलविरोधी अपरेसन तीव्र पारेको छ । सोही क्रममा शनिबार सैनिकहरु शुक्मा–बिजापुर सीमा क्षेत्रमा अपरेसनमा निस्किएका थिए ।

उक्त अपरेसनमा गएका सैनिकमाथि माओवादीका लडाकुले आक्रमण गरेका हुन् । उनीहरुबीच करिब चार घण्टा भिडन्त भएको थियो । माओवादीले भिडन्तको क्रममा स्वचालित हतियार र ग्रिनेडको प्रयोग गरेका थिए ।

भिडन्तको क्रममा कम्तीमा एक महिलासहित नौ विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । सेनाले भने करिब १५ माओवादी लडाकुको मृत्यु भएको बताएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा भएको आक्रमणमा ज्यान गुमाएका सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत गृहमन्त्री शाहले शान्ति र समृद्धिका दुश्मनविरुद्धको लडाइँ जारी रहने बताएका छन् ।

भारतमा पछिल्लो ४० वर्षयता माओवादीले सरकारसँग युद्ध गर्दै आएको छ । सन् २००० यता मात्र युद्धको क्रममा १० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । माओवादीले आदिवासी र अन्य सीमान्तकृत समुदायको अधिकारको रक्षाको माग गर्दै आएका छन् । भारतको सरकारले माओवादी मुलुकको सबैभन्दा ठूलो आन्तरिक सुरक्षाको चुनौती रहेको बताउँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment