Comments Add Comment

माओवादीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिंदै

मुख्यमन्त्री शेरधन राई

२३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ ।

आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको हो ।

गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो ।

अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने भएको हो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सोमबार बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता हुनेछ ।

गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएपछि माघ ७ गते सातौं हिउँदे अधिवेशन आह्वान गरिएको थियो । तर सत्तापक्षीय दलभित्रको विवादका कारण बैठक बस्न सकेको थिएन । सोमबारको बैठक सहज रुपमा बस्ने छ ।

गत पुस १२ गते दर्ता भएको प्रस्तावमा माधव नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ जनाले हस्ताक्षर गराएका थिए ।

९३ जना सदस्य रहेको प्रदेशसभामा एमालेका ५१ सांसद छन् । कांग्रेस माओवादी र साना दल एक ठाउँ उभिंदा प्रदेशमा ४२ मात्रै सदस्य छन् । प्रदेशसभामा सरकार निर्माणका लागि ४७ सांसद आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment