२३ चैत, बुटवल। रुपन्देहीमा वायु प्रदूषणको मात्रा बढेको छ। पन्ध्र दिनअघि वायु गुणस्तर सूचकांक (एक्यूआई) सरदर ४८ रहेकोमा सोमबार एक्यूआई १८४ पुगेको छ। यो मात्रा स्वास्थ्यका लागि हानीकारक हुने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।
चैत ७ गते रुपन्देहीमा एक्यूआई ४४.६३ रहेकामा सोमबार दिउँसो १८४ पुगेको लुम्बिनी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका वातावरण तथा जलवायु परिवर्तन महाशाखाका वातावरणविद् निर्मल चौधरीले बताए ।
उनले भने, ‘वातावरण विभागले वायु गुणस्तर मापन स्टेशन बुटवलमा राखिसकेको छैन । तर बुटवलबाट सबैभन्दा नजिकमा रहेका स्टेशनहरु दाङ, नेपालगञ्ज र चितवनको सौराहाकै तथ्याङकबाट औसत गरी रुपन्देहीको अनुमान गरिएको हो।’
साधारणतया एक्यूआई १५१ देखि २०० सम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म अत्यन्त अस्वस्थकर र ३०१ भन्दा माथि जोखिमपूर्ण मानिन्छ । एक्यूआई १०० भन्दामाथि रहेको समयमा घर बाहिर तथा खुल्ला स्थानमा हिँडडुल, दौड, खेलकुद आदि जस्ता श्वास-प्रश्वास बढ्ने गतिविधिहरु गर्न नहुने चिकित्सकहरुको सुझाव छ।
सोमबार वायु प्रदूषणको मात्रा उच्च हुँदा रुपन्देहीका मुख्य शहर बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रको आकाश र चुरे क्षेत्रको वन बाक्लो तुवाँलोले ढाकेको छ। वायु प्रदूषण मात्रा बढेकाले चस्मा नलगाउने व्यक्तिहरुमा आँखा पोल्ने समस्या देखिएको छ।
‘पन्ध्र दिनको वायु प्रदूषणको मात्रा तुलना गर्दा पछिल्लो मात्रा एकदमै उच्च र अस्वस्थकर देखिएको छ’–वातावरण विद् चौधरीले भने–‘बुटवल आसपासका चुरे वनमा आगलागी भएका कारण पनि रुपन्देहीमा वायु प्रदूषण मात्रा बढेको हो।’
यस्तै वायु प्रदूषण बढेको बेला सकभर बाहिर हिंडडुल गर्न नहुने र हिंड्नै परे गुणस्तरीय मास्क र चस्मा लगाएर मात्र हिंड्नुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.सुदर्शन थापा बताए । उनले भने, ‘प्रदूषित हावा फोक्सोमा पस्यो भने अकस्मात् आँखा पोल्ने, टाउको दुख्ने वा नाकहरू बन्द हुने, हाच्छ्यु आउने, घाँटी चिलाउने, खोकी लाग्ने जस्ता समस्या देखिन थाल्छ।’
वायु प्रदूषणले तत्काल खास ठूलो असर नदेखाउने भएपनि दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर, मुटुको समस्या, श्वासप्रश्वासको समस्या बल्झाउने डा. थापाको भनाइ छ।
‘वायु प्रदूषणको असर आजको भोलि नदेखिन सक्छ तर यो ‘साइलेन्ट पेन्डामिक’ अर्थात मौन महामारी हो किनकी प्रदूषित हावामा घुलिएर आउने साढे २ पीपीएमभन्दा कम साइजका धूलोका हानिकारक कणहरू सीधै हाम्रो फोक्सोमा प्रवेश गर्छन्’ डा. थापाले भने ।
सामुदायिक वनहरुमा लाग्ने डढेलो, गहुंको छ्वालीमा लगाइने आगलागी,इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतीय गाडीको प्रयोग र पर्याप्त वृक्षारोपण गर्न सके वायु प्रदूषण कम गर्न सकिने वातावरणविदको भनाइ छ।
प्रदूषित हावाले पक्षघात र फोक्सोको क्यान्सर समेत गराउन सक्ने र कसै कसैलाई बिर्सने रोग (डिमेन्सिया) समेत हुने चिकित्सक बताउँछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4