+
+
Shares

डा. भेषराज थापालाई विज्ञान तथा प्रविधि युवा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १७:३४

२४ चैत, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले २०७७ सालका लागि ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्राचार्य एवं सहप्राध्यापक ई. डा. भेषराज थापालाई प्रदान गरेको छ।

नास्टले प्रत्येक वर्ष मेरिट अर्थात् अनुसन्धान पेपरको संख्या, इम्प्याक्ट फ्याक्टर र उक्त अनुसन्धानले नेपाल र अन्तर्राष्ट्रिय जगतमा खेलेको भूमिका र पुर्‍याएको योगदानका आधारमा ४० वर्षमूनिका नेपाली युवा वैज्ञानिकहरूलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ। यस वर्षको लागि ई. डा. थापालाई जलस्रोत (वाटर रिसोर्स) को अनुसन्धान क्षेत्रमा पुर्‍याएको प्राज्ञिक-वैज्ञानिक योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो।

‘इन्टिग्रेटेड रिभर बेसिन म्यानेजमेन्ट’मा जापानको यामान्सी विश्वविद्यालयबाट पीएचडी गरेका उनलाई सोधकार्यमा देखाएको उत्कृष्ट प्रस्तुतिको सम्मानस्वरुप नेपाल सरकारद्वारा ‘नेपाल विद्याभुषण- क’ उपाधिद्वारा समेत विभूषित गरिएको थियो। जापान सरकारद्वारा प्रदान गरिने ‘मेक्सट छात्रवृति’ मार्फत् उनले आफ्नो पीएचडी अध्ययन सम्पन्न गरेका थिए।

साथै, डा. थापालाई नास्टको एसोसियट फेलोको आबद्धता समेत दिइएको छ। नास्टको “ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम” अन्तर्गत गरिएको आह्वानमा प्राप्त वैज्ञानिक, विज्ञ तथा प्राविधिकहरूका प्रस्तावना मध्येबाट उनलाई उत्कृष्ट छनोट गर्दै यो आबद्धता प्रदान गरिएको हो।

सिँचाइ, जलविद्युत्, वहुउद्देश्यीय जलस्रोत परियोजना, कृषिका लागि जल व्यवस्थापन, हाइड्रोलोजिकल-हाइड्रोजियोलोजिकल मोडलिङ, भूमिगत पानीको व्यवस्थापन तथा गभर्नेन्सलगायत जलस्रोतका विविध विधामा विशेषज्ञता राख्ने डा. थापाले विश्व बैंक र इन्टरनेस्नल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट (आइड्ब्ल्यूएमआई) मा अनुसन्धानकर्ताको रुपमा तथा सरकारी निकायहरू; जल तथा उर्जा आयोग, सिँचाइ विभाग, भू तथा जलाधार संरक्षण विभाग, जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग, लगायतमा वाटर रिसोर्स इन्जिनियरको रुपमा काम गरिसकेका छन्।

उनी इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोक क्याम्पसका भिजिटिङ फ्याकल्टिको रुपमा समेत आबद्ध छन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय शीर्ष-उत्कृष्ट जर्नलहरूमा उनी र उनी आबद्ध दर्जनौ अनुसन्धान पेपरहरू प्रकाशित छन् भने अनुसन्धानलाई उत्थान गर्ने हेतुका साथ उनी नेपालको अनुसन्धान केन्द्रित संस्था ‘आइरिस’मा पनि आबद्ध छन् ।

प्रधानमन्त्री केपी शर्मा वली एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितिमा आयोजित नास्टको ४४ औं प्राज्ञसभाले यस वर्ष २०७७ सालका लागि विभिन्न क्षेत्रको अनुसन्धानमार्फत् योगदान पुर्‍याइरहेका प्राज्ञिक व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा डा. थापासँगै विज्ञान प्रविधिका ११ भिन्न विधाहरूमा १७ व्यक्ति वा संस्थाहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?