Comments Add Comment

रुकुमेली जनतासामु प्रचण्डले भने : मैले गल्ती गरें, आत्मालोचना गर्छु

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् ।

मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहाहरुले महत्व पाएको स्वीकार गरे ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।’

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो ।’

यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको उनले दाबी गरे । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment