Comments Add Comment

वीरगञ्ज-पथलैया ६ लेन सडक निर्माण सुस्त

२५ चैत, वीरगञ्ज । ‘रोडको तमासा, सिक्स लेन भन्या छ, कुन ठेकदारले के गर्‍यो गरेन, अनेक झण्झट छ ।’ व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत निर्माणाधीन वीरगञ्ज-पथलैया छ लेन सडकबारे उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिएको अभिव्यक्ति हो यो ।

२७ फागुनमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले यो सडक निर्माण कार्यलाई तीव्रता दिइने बताएका थिए । ‘जेसुकै कुरा होस्, केपी ओली नेतृत्वमा रहेको सरकारकै पालामा यसलाई स्पीड अप गरिन्छ, लठिभद्र जुन रहेको छ यो रहँदैन । स्थलगत ढंगले हेरेको छु, प्रधानमन्त्रीलाई गएर भन्छु,, जहाँ-जहाँ अड्केको छ त्यो रहनेछैन,’ उनले भनेका थिए ।

उपप्रधानमन्त्री पोखरेलले यो कुरा बोलेको पनि एक महिना पुग्न लागेको छ । तर सडकको दुरावस्था भने उस्तै छ । सडक निर्माण सुस्त छ । कतिपय निर्माण कम्पनीले कच्ची सडकमा पानी छर्कने कामसमेत नगर्नाले सर्वसाधारण धुलोका कारण सास्ती भोग्न बाध्य छन् । धुलो नियन्त्रणको माग राखेर २२ चैतमा जीतपुर सिमराका बासिन्दाले आन्दोलन नै गरे ।

यो पनि पढ्नुहोस जितपुरसिमरावासीले ४ घण्टा सडक अवरुद्ध पारे, धुलाे नियन्त्रण गर्न माग

जीतपुरका राजुराज गिरी छिटो सडक निर्माणका लागि सरोकारवालालाई आग्रह गर्दा-गर्दा थाकिसकेको बताउँछन् । ‘कतिपटक त आन्दोलनमै समेत उत्रियौं, सडकमा पानी त नियमित हाल भन्दा पनि मान्दैनन्,’ उनले भने, ‘भन्दा-भन्दा थाकिसकेका छौं, ठेकेदार काममा ढिलासुस्ती र लापरवाही गर्छ । सर्वसाधारणले धुलो खाएर भार व्यहोर्नुपरेको छ ।’

आयोजना कार्यालयका कर्मचारीले भने आवश्यक रकम नहुँदा काममा गति दिन नसकिएको बताए । ‘चालु आर्थिक वर्षको दुई चौमासिकमा गरी ३९ करोड ४५ लाख बजेट आएको थियो,’ कार्यालयका एक इन्जिनियरले भने, ‘३० करोड खर्च भइसक्यो, बाँकी पैसा फुकुवा नै भएको छैन । काम बढी भएको छ । पैसा दिन बजेट पुगिरहेको छैन ।’ उनले माथिल्लो निकायमा बजेटका लागि आग्रह गरिएको समेत जानकारी दिए ।

यस्तो छ सडकको प्रगति

पथलैयादेखि आइसीपीसम्म ३१ दशमलब २८ किलोमिटर सडक ८ वटा प्याकेजमामा ठेक्का लगाइएको छ । पहिलो प्याकेज वीरगञ्ज परवानीपुरदेखि गण्डक नहरसम्मको हो ।

३.९२ किलोमिटर लामो सडक बनाउने जिम्मा एएमआर/पप्पु/कनटेक जेभीले लिएको छ । वि.सं. २०७३ असार २९ गते ठेक्का सम्झौता भएको सडकखण्ड ०७७ असोज २२ गतेसम्म बनाइसक्नुपर्ने थियो । तर ५९ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सो सडक निर्माणको वित्तीय प्रगति ५४ प्रतिशत छ ।

पीएस र भ्याटसहित ५७ करोड ५६ लाख ६१ हजार १ सय ८ रुपैयाँमा ठेक्का लागेकोमा कम्पनीले ३० करोड ५५ लाख ७८ हजार ३ सय ८८ रुपैयाँ ९१ पैसा लिइसकेको छ । निर्माण कम्पनीबीचको आपसी विवादले लामो समय काम रोकिएको सडकको काम त शुरु भएको छ तर म्याद थप हुन सकेको छैन । म्याद थपको प्रक्रियामा रहेको व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज-पथलैया सडकको कार्यालय पथलैयाले जनाएको छ ।

दोस्रो प्याकेज, गण्डक नहरदेखि हरपतगञ्जसम्म ३.५ किलोमिटरको छ । श्रेष्ठ/विरुवा/एपेक्स जेभीले वि.सं.२०७३ असार २९ गते ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएको हो । ५३ करोड ७५ लाख ५ हजार ७ सय रुपैयाँ १८ पैसामा लागेको ठेक्काको काम थपिएको समय अनुसार ०७७ असार ३१ सम्म सम्पन्न हुनुपर्ने हो । ८६ प्रतिशत काम सम्पन्न भएपछि काम अघि बढ्न सकेको छैन । ठेकेदार कम्पनीले ४६ करोड ६० लाख ८७ हजार ५४ रुपैयाँ ८४ पैसा बुझिसकेको छ ।

योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सम्पत लाल दासका अनुसार ठेकेदारले गत असारदेखि काममा चासो दिएको छैन । ‘काम फाइनल गर्न मात्रै बाँकी हो, सर्भिस लेनको डीबीएसडी, पेन्टिङ, रोड मार्किङ, ट्राफिक सिग्नल लगाउनु छ,’ उनले भने, ‘तर पटक-पटक ताकेता गर्दा पनि कम्पनीले काममा वास्ता नै गरिरहेको छैन ।’
तेस्रो प्याकेज, हरपतगञ्ज चोकदेखि ड्राइपोर्टसम्मको हो । एकै समयमा ठेक्का लागेको यो प्याकेज बनाउने जिम्मा पप्पु/लुम्बिनी जेभीले लिएको छ । ५४ करोड ७० लाख ६४ हजार ८३ रुपैयाँ ३० पैसामा ठेक्का लागेको योजनाको ५२ प्रतिशत काम भएको छ ।

त्यसवापत २७ लाख ८७ हजार ५४ रुपैयाँ ८४ पैसा कम्पनीले लिइसकेको छ । कोरोना महामारीपछि कामको गति घटाएको कम्पनीले काम भने जारी नै राखेको छ । आयोजनाको म्याद पुनः ६ महिना थपिएको छ । ०७८ साउन १९ गतेसम्म काम सक्नुपर्ने छ । जग्गा विवादबाहेक काम गर्नका लागि अन्य समस्या छैन ।

चौथो र छैठौं प्याकेज एमआर/कनटेट जेभीले ठेक्का लिएको हो । पथलैया चोकदेखि सूर्य टोबाकोसम्म ४.५६ किलोमिटरको भौतिक प्रगति ९३ प्रतिशत छ । ८६ करोड ५३ लाख ४५ हजार १ सय ८३ रुपैयाँ ३० पैसामा ठेक्का लागेको योजनाको वित्तीय प्रगति ८७ प्रतिशत छ । कम्पनीले ६५ करोड ५० लाख ७७ हजार १ सय ४३ रुपैयाँ ९९ पैसा बुझिसकेको छ ।

जीतपुर आर्मी क्याम्पदेखि परवानीपुरसम्म ५.१६ किलोमिटरमा ८३ प्रतिशत काम सकिएको छ । ७६ करोड ३७ लाख ५ हजार ८ सय ३० रुपैयाँ ४१ पैसामा ठेक्का लागेको योजनाको वित्तस्य प्रगति ७७ प्रतिशत छ । काम गरे वापत ठेकेदारले ६४ करोड ६८ लाख ४ हजार १४ रुपैयाँ ३४ पैसा बुझिसकेको छ । दुवै ठेक्कामा ट्राफिक लाइटिङको मात्रै काम बाँकी रहेको सूचना अधिकारी इन्जिनियर दास बताउँछन् । कम्पनीले ०७७ मंसिर २७ सम्म निर्माण सक्न थप म्याद पाएको छ ।

काममा ढिलासुस्ती

पाँचौं प्याकेज, सिमरास्थित सर्य टोबाकोदेखि जीतपुरस्थित आर्मी क्याम्पसम्म ५.८० किलोमिटरको हो । सबैभन्दा कम काम यहीँ भएको छ । यसको भौतिक प्रगति ४७ प्रतिशत मात्रै छ भने वित्तीय प्रगति ४१ प्रतिशत छ ।

शर्मा/युनाइटेड विल्डर्स/दिवा निर्माण सेवा जेभीले ०७३ असार २९ गते ८२ करोड ४ लाख ३८ हजार ४ सय ६१ रुपैयाँ २५ पैसामा निर्माण सम्झौता गरेको थियो । उसले ३५ करोड ५६ लाख ८४ हजार १४ रुपैयाँ ३४ पैसा लिइसकेको छ । यो खण्डमा एकदमै धुलो उड्ने भएकाले सर्वसाधारण पटक-पटक आन्दोलित हुनुपरेको तर पनि सुधार नआएको जीतपुर सिमरा वडा नं. ३ का अध्यक्ष जगरनाथ घिमिरे बताउँछन् ।

काम नगरेका कारण कारबाहीस्वरुप आयोजना कार्यालयले ७ करोड २० लाख मोबिलाइजेसन वापतको रकम समेत जफत गरिसकेको छ । त्यसपछि पनि काम अघि बढ्न सकेन । ०७७ माघ ११ गते किन काम नगरेको भनेर सूचना नै निकालिएको योजना कार्यालयले जनाएको छ । पछिल्लो पटक सडक विभागमै बैठक बसेपछि बल्ल निर्माण कम्पनीले बैशाखको पहिलो हप्तासम्ममा एक लेयरको कालोपत्रे गर्छु भनेर आश्वासन दिएको छ । काम पनि सुरु गरेको छ ।

सबैभन्दा ठूलो प्याकेजमा काम सन्तोषजनक हुन नसकेको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दास बताउँछन् । ‘गत वर्ष पनि काम गरेन, पटक-पटक लिखित तथा मौखिक पत्राचार गर्‍यौं, काम नगरेपछि मोबिलाइजेसन वापतको रकम जफत गरिसकेका छौं,’ उनले भने, ‘विभागमा २/२ सेट ग्रेडर, रोलर, जेसिबी र पानी ट्याङ्की राखेर काम गर्छु भन्ने प्रतिबद्धता जनाएपछि काम शुरु भएको छ ।’ ०७७ माघ २८ मै योजनाको म्याद सकिएको छ । कम्पनीले म्याद थपका लागि दिएको निवेदन प्रक्रियामै छ ।

सातौं र अन्तिम प्याकेजको अवस्था

सातौं प्याकेज परवानीपुरदेखि गण्डक चोकसम्मको ४.२४ किलोमिटरको खण्ड हो । दिवा सपना जेभीले ०७४ मंसिर ६ गते ४५ करोड ९१ लाख ३३ हजार ६ सय ७ रुपैयाँ ६१ पैसामा ठेक्का हात पारेको थियो । ५९ प्रतिशत भौतिक र ५३ प्रतिशत वित्तीय प्रगति छ । कम्पनीले २८ करोड ४ लाख ३८ हजार ४ सय ६१ रुपैयाँ २५ पैसा बुझिसकेको छ ।
म्याद थप भएपछि काम सक्ने समय ०७८ साउन २ सम्म पाएको छ । कामको गति ठिकै रहेकाले थपिएको समयमा काम सक्ने सम्भावना देखिएको सूचना अधिकारी इन्जिनियर दास बताउँछन् ।

अन्तिम प्याकेज ड्राइपोर्टदेखि आइसीपीसम्मको ६ सय मिटर खण्ड हो । शुरुमा पप्पु कन्स्ट्रक्सनलाई कामको जिम्मा दिँदा कामले खासै गति लिन सकेन । २०७६ बैशाख २५ गते रमन महाविर जेभीले ठेक्का पाएपछि काम भइरहेको छ । ‘पप्पुलाई काम गर्न दिइएको थियो, गति राम्रो थिएन । ग्राभेलको काम उसले नै गरेको हो, त्यसको भुक्तानी भइसकेको छ,’ इन्जिनियर दासले भने, ‘नयाँ ठेक्का लागेपछि काम राम्रै छ ।’

भौतिक ८५ प्रतिशत र वित्तीय ७० प्रतिशत प्रगति छ । ११ करोड ६२ लाख १ हजार ८ सय ३२ रुपैयाँ ४२ पैसाको ठेक्कामा कम्पनीले ८ करोड ११ लाख ५४ हजार ५ सय ६३ रुपैयाँ ५९ पैसा लिइसकेको छ । योजना कार्यालयका अनुसार योजनाको काम लगभग सम्पन्न भइसकेको छ, साइडमा क्र्यास बेरियरको काम चल्दैछ ।

सडक तयार नहुँदा कन्टेक लुम्बिनी जेभीले पथलैयादेखि ड्राइपोर्टसम्म ड्रेनको कभर राख्न, स्टि्रट लाइट लगाउन पाएको छैन । योजना कार्यालयले त्यसका लागि ०७४ फागुन २७ गते १६ करोड २२ लाख २९ हजार ३ सय ९३ रुपैयाँ ५५ पैसामा ठेक्का लगाएको थियो । ९ करोड १० लाख ३३ हजार ४ सय १ रुपैयाँ ७८ पैसा कम्पनीले बुझिसकेको छ । कामको भौतिक प्रगति ५८ प्रतिशत र वित्तीय प्रगति ५३ प्रतिशत देखिएको छ । ०७७ चैत २७ गतेसम्म काम गर्ने म्याद छ । अर्को योजनासँग भर पर्नुपर्ने काम भएकाले उसको काम हुन नसकेको योजना कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment