Comments Add Comment

आफ्नै बलबुतामा उभिएकी प्रविधि जगतकी कान्छी अर्बपति

सायद यसअघि उनको नाम धेरैले सुनेका थिएनन् । तर यो पटकको फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा पहिलोपटक उनको प्रवेशसँगै त्यसले एकखालको तरंग ल्यायो ।

डेटिंग एप बम्बलकी संस्थापक हि्वट्नी वल्फ हर्ड विश्वका डलर अर्बपतिहरुको सूचीमा समावेश भएकी छिन् ।

अर्बपति सूचीमा परेकी अमेरिकी मोडेल किम कार्दाशिनका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा मनग्गे समाचार आएका छन् । तर बम्बल संस्थापक हर्डका विषयमा उतिधेरै समाचार नआएका भए तापनि उनी समेत कार्दाशिनभन्दा कम सशक्त रोल मोडल होइनन् । किनकी ३१ वर्षकी हर्ड विश्वकै सबैभन्दा कान्छो उमेरकी र आफ्नै बलबुताले बनेकी अर्बपति हुन् ।

गत फेब्रुअरीमा बम्बल कम्पनीलाई सार्वजनिक कम्पनीको रुपमा परिणत गरेसँगै हर्ड अर्बपतिको सूचीमा उक्लिएकी हुन् । बम्बललाई सेयर बजारमा लैजाने बेला हर्ड १८ महिने छोराको आमा थिइन् ।

आफ्नो भाषणमा उनले इन्टरनेटलाई अझै प्रिय र उत्तरदायी ठाउँ बनाउन चाहेको बताएकी थिइन् ।

सन् २०१७ मा बीबीसीसँगको अन्तरवार्तामा उनले प्रभावकारी प्रमुख कार्यकारी बन्ने गुह्य काइदा भनेकै आफूलाई अति गम्भीररुपमा नलिनु नै भएको बताएकी थिइन् ।

साथै काम र व्यक्तिगत जीवनबीचमा सन्तुलन ल्याउनु, परिवारका लागि समय निकाल्नु र दिउँसो छुट्टी लिनु पनि आवश्यक रहेको उनको तर्क छ ।

अर्बपति क्लबमा उनको आरोहणको कथा रोचक छ ।

डेटिंग एप बम्बल स्थापना गर्नुअघि उनी अर्को एप टिन्डरको संस्थापक टिमकी सदस्य थिइन्। तर अन्य कार्यकारीहरुसँगको सम्बन्धमा खटपट आएसँगै उनले टिन्डर छाडि्न । रोचक त के भने उनीसँग सम्बन्ध बिग्रिएका कार्यकारीहरुमध्ये एकजनासँग त उनी प्रेम सम्बन्धमा थिइन् । त्यसको केही समयपछि उनले आफूमाथि यौनहिंसा भएको भन्दै उजुरीसमेत दिइन्।

टिन्डरको मातृ कम्पनी म्याच ग्रुपले यौनहिंसाको आरोप अस्वीकार गर्‍यो तर उक्त मुद्दा मिलाउनका लागि १० लाख डलर तिर्‍यो ।
उक्त घटनापछि उनले थुप्रै अनलाइन हिंसाको सामना गर्नुपर्‍यो र आफ्नो ट्वीटर अकाउन्टसमेत बन्द गरिन् ।

आफूले भोगेको उक्त पीडालाई सम्बोधन गर्नेगरी अन्ततः उनले यस्तो डेटिंग एप सुरु गरिन् जसको लगाम महिलाको हातमा हुन्छ । वास्तवमा बम्बल यस्तो डेटिंग एप हो जसमा आफ्नो सम्भावित पार्टनरसँग कुराकानी गर्दा केवल महिलाले मात्र कुराकानीको सुरुआत गर्न सक्दछन् ।

यो सोच सामान्य जस्तो लाग्न सक्दछ । तर डेटिंग एपमा पुरुषहरुबाट अनावश्यक मेसेजहरुको सामना गर्नु पर्ने महिलाहरुका लागि यो फिचरको महत्व थाहा हुन्छ ।

उनले रुसी अर्बपति एन्ड्रे एड्रीभको सहयोगमा बम्बलको स्थापना गरेकी थिइन् । अर्को कम्पनी बाडूमा पनि लगानी भएका एन्ड्रेले सन् २०१९ को नोभेम्बरमा बम्बल र बाडू दुवैमा रहेको आफ्नो सेयर बिक्री गरे ।

बम्बलमा संस्थापक वल्फे हर्डको ११.६ प्रतिशत सेयर रहेको छ । जसको मूल्य १ अर्ब ३० करोड डलर हुन आउँछ । उनी बाडू एपकी पनि प्रमुख हुन् । दुवै एपका गरी ४ करोड प्रयोगकर्ता छन् र तीमध्ये २४ लाख सशुल्क प्रयोगकर्ता हुन् ।

हर्ड आफूमाथि भएको हिंसाका बारेमा खुलेर बोल्ने महिला पनि हुन् । उनले एक अन्तरवार्ताका क्रममा किशोरावस्थाका बेला आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।

बडी सेमिङ, हेट स्पिच तथा हिंसाजन्य अभिव्यक्तिहरुप्रति बम्बलले सख्त नीति अख्तियार गर्ने गर्दछ । पछिल्लो पटक बम्बलले जीउडालका बारेमा नकारात्मक टिप्पणी गर्ने अर्थात् बडी सेमिङको विरुद्धमा अभियान चलाएको छ । जसअन्तरगत जीउडालको स्वरुप तथा आकारप्रकारका बारेमा अपमानजन्य कुराहरुलाई बन्देज लगाइएको छ ।

फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको पछिल्लो वार्षिक सूचीमा संलग्न ३२८ जना महिलामध्ये हर्ड पनि एक हुन् । अघिल्लो वर्ष अर्बपतिको सूचिमा २४१ जनामात्र महिला थिए ।

विश्वका सर्वाधिक धनी महिलाको पहिलो नम्बरमा अमेरिकी अर्बपति एलिस वाल्टन छिन् जो वालमार्टकी मालिकनी मध्येकी एक हुन् भने दोश्रो नम्बरमा फ्रेन्च अर्बपति फ्रान्कोइस बिटनकोर्ट मायर्स छिन् । उनी कस्मेटिक कम्पनी लोरिएलका संस्थापककी नातिनी हुन् ।

विश्वका धनी महिलाहरुको तेश्रो नम्बरमा चाही म्याकेन्जी स्कट छिन् । उनी अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी हुन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment