Comments Add Comment

नागढुंगा–मुग्लिन सडक विस्तार : दुई प्याकेजमा ४२ निर्माण कम्पनीबीच प्रतिस्पर्धा

फाइल तस्वीर

२६ चैत, काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि आह्वान भएको दुई वटा प्याकेजको टेन्डरमा ८६ वटा बोलपत्र पेस भएका छन् । नागढुंगा–नौबिसे र नौबिसे-मलेखु खण्डमा कुल ४२ कम्पनीले प्रतिस्पर्धा गरेको सडक विभागले जनाएको छ । मलेखु–मुग्लिन खण्डको ठेक्का भने आह्वान भएपनि बोलपत्र बुझाउने म्याद सकिएको छैन ।

सडक विभागका उपमहानिर्देशक तथा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार परियोजनाका प्रमुख रामहरी पोखरेलका अनुसार धेरैजसो चिनियाँ कम्पनीले प्रतिस्पर्धा गरेका छन् । भारतीय, नेपाली र चिनियाँ कम्पनी तथा नेपाली र भारतीय कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीले पनि बोलपत्र पेस गरेका छन् ।

पहिलो चरणमा प्राविधिक पक्षमा प्रारम्भिक योग्यता पुगेका कम्पनी छनोट गरेर विकास साझेदार विश्व बैंकमा स्वीकृतिका लागि पठाइएको विभागले जनाएको छ । प्राविधिक मूल्यांकनमा पास भएकाहरुसँग अब आर्थिक प्रस्ताव माग गरिनेछ । त्यसमध्ये सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनीले ठेक्का पाउनेछन् । नेपाली कम्पनीले सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने विदेशी कम्पनीको भन्दा ७ प्रतिशतसम्म बढी मूल्य प्रस्ताव गरेमा ठेक्का पाउनसक्छ ।

यो सकडखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ । यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ ।

बढी उकालो रहेको भागमा सवारी बिग्रँदा असर नपर्ने गरी तीन वटा लेन बनाउन लागिएको हो । आगामी दशैंसम्म ठेक्का सम्झौता गरेर सडक विस्तारको काम थाल्ने तयारी छ ।

यो सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो । तर, मुआब्जा अत्याधिक तिर्नुपर्ने भएपछि न्युनतम मुग्लिन–नारायणगण्ढ सडकखण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो ।

९२ मिलोमिटर लामो यो सडकखण्डका बीचबीचमा विभिन्न बजारहरु छन् । जुन बजारमा २५ मिटरभित्रै घरसहितका संरचनाहरु पर्छन् । यो खण्डमा चार वटा नयाँ पुल बनाउनुपर्ने छ । त्यसका लागि निजी जग्गा अधिग्रहण गर्नुपर्ने पोखरेलले बताए ।

मुग्लिन–नागढुंगा सडकमार्ग ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मुल मार्ग हो । यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षामा समयमा यो सडक अति जीर्ण बन्न पुग्छ ।

नौबिसेमाथि नागढुंगासम्मको सडक पानी पर्नासाथै यो सडकमा खाल्डाखुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिग्रिएर रोकिनासाथै लामो लाइन लागिहाल्ने समस्या छ ।

उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ ।

झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दिनमा १८ देखि २० हजार सवारी आवात–जावत गर्ने सडकको अवस्था वर्षौंदेखि फेरिएको छैन ।

अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन–नारायणगढ खण्डको भन्दा बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment