Comments Add Comment

निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई वनमन्त्रीको फोन– हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउनू

वनमन्त्री प्रेम आले

२७ चैत, काठमाडौं । वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरवको रुपमा रहेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी १  र २ मा करिब ५ किलोमिटर सडक निर्माणमा रोक लगाएको छ ।

सांसद लक्ष्मणलाल कर्णसहितको एक प्रतिनिधि टोलीले वनमन्त्री आलेसँग भेट गरी तत्काल सडक निर्माणको काम अघि बढाउने वातावरण बनाइदिन विहीबार आग्रह गरेको थियो । मन्त्री आलेले संरक्षण अधिकृत बराललाई फोन गरेर सडक निर्माण कार्य नरोक्न निर्देशन दिएको भेटमा सहभागी प्रतिनिधि टोलीका सदस्य सन्तोष श्रेष्ठले जानकारी दिए ।

संरक्षण अधिकृत बराललाई टेलिफोन गर्दै मन्त्री आलेले भने, ‘राष्ट्रिय गौरवको आयोजना हो । वातावरण प्रभाव मूल्यांकन पनि हुँदै गर्छ । काम पनि नरोकौं । काम अगाडि नबढे बजेट नै फ्रिज हुन सक्छ । जनताको काम हो । यस्तो काममा हामीले सहयोग नै गर्नुपर्छ ।’

मन्त्रीसँगको टेलिफोन सम्वादमा संरक्षण अधिकृत बरालले फास्ट ट्र्याकबाट वातावरणीय प्रभाव मूल्यांकन गरेर काम अघि बढाउन सकिने बताएका थिए । तर मन्त्री आलेले वातावरणीय प्रभाव मूल्यांकन गर्दा ६ महिना बित्न सक्ने भन्दै दुवै काम सँगसँगै अगाडि बढाउन सकिने बताएका थिए ।

प्रतिनिधि टोलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशकसँग पनि भेट गरेको थियो ।

निकुञ्जले सडक निर्माणमा अवरोध पुर्‍याएको भन्दै ठेकदार कम्पनीले अधुरो सडक हस्तान्तरण गरेर हिँडेपछि स्थानीयले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ ।

अधिकारकर्मी भन्छन् : अदालतमा मुद्दा हाल्छौं

वन क्षेत्रमा सडक निर्माण गर्न मन्त्रीले निर्देशन दिएकोप्रति उपभोक्ता अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले अदालतको आदेशमा वन क्षेत्रमा सडक निर्माण रोकिएको भन्दै मन्त्रीले त्यसविरुद्ध आदेश दिएकाले अदालतको अवहेलनाको मुद्दा लिएर अदालत जाने बताए । ‘हामी अवहेलनाको मुद्दा लिएर अदालत जान्छौं’ उनले भने ।

यो पनि पढ्नुहोस हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment