Comments Add Comment

पौडेल– देउवा भनाभन : अर्को चान्स मिस नहोस् ! कहाँ अवसर खेल फालें ?

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नयाँ सरकार गठनबारे सार्वजनिक मञ्चमै ‘भनाभन’ भएको छ ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा देउवा पक्षका नेताहरुले चुनावको पक्षमा मत राखे भने संस्थापन इतरका नेताहरु नयाँ सरकार गठनको पक्षमा देखिए । नेता गगन थापाले सरकारको विकल्प दिनु प्रतिपक्षी दलको धर्म भएको बताए भने उपसभापति विमलेन्द्र निधिले निर्वाचन नै विकल्प भएको बताए ।

त्यसपछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए । र, अर्को अवसर खेर नफाल्न खबरदारी गरे ।

पौडेलपछि बोल्ने पालो सभापति देउवाको थियो । तर पोडियममा जानुअघि नै आफ्नो आसनतिर जान लागेका पौडेललाई प्रश्न गरे, ‘मैले केमा अवसर खेर फालेँ ?’ मञ्चमै रहेका एक नेताका अनुसार पौडेल फर्किन लागेका बेला देउवाले ‘अघि केमा अवसर खेल फालेको भनेको रे ?’ भनेर सोधेका थिए ।

नजिकै भएका व्यक्तिले पौडेलको भाषण सम्झाएपछि देउवाले उनलाई रोक्दै प्रश्न गरेका हुन् । त्यसक्रममा दुई नेताबीच ‘भनाभन’ भयो, जसमा उपसभापति निधि पनि मिसिएका थिए । उनले पनि सभापति देउवाकै शैलीमा ‘नयाँ सरकार गठनका लागि संसदमा संख्या पुग्नु परेन’ भनेका थिए ।

एउटा चान्स मिस भयो : पौडेल

विमलेन्द्रजीले एउटा सन्देश दिइसक्नुभयो भन्दै सम्बोधन सुरु गरेका वरिष्ठ नेता पौडेलले भने, ‘एउटा चान्स त हामीले अस्ति नै मिस गरिसकेका छौं । जुनबेला एमाले र माओवादी केन्द्र बनेको थिएन (सर्वोच्चको २३ फागुनको फैसलाअघि), त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भयो ।’

साबिकको नेकपा विभाजित हुँदा प्रचण्ड–माधव समूहले कांग्रेस सभापति देउवालाई भेटेर नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए । तर देउवाले सरकार गठनबारे ज्योतिषलाई हेराएको खबर आएको थियो । पौडेलले त्यतै संकेत गरेका हुन् ।

पौडेलले अघि भने, ‘फेरि पनि जोखाना हेरेर चान्स मिस गर्ने, अनि टाउको समातेर रुने कुरा हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको भर्‍याङ चढेर सर्वसत्तावादको धुरीमा पुग्न चाहेको भन्दै उनले यसबाट मुक्ति दिनसक्नुपर्ने बताए । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न अरु पार्टीहरुसँग मिलेर इमान्दार प्रयत्न गर्नुपर्छ’ उनले भने ।

फेरि अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न हाँस्न पाउनुको अवस्था आउने उनले बताए ।

देउवाको जवाफ : संख्या नपुग्ने खेलमा लाग्दिनँ

पौडेलपछि मन्तव्य राखेका सभापति देउवाले पौडेलको भनाइ खण्डन गरे । संसदको अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएको उनले बताए ।

कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर आफूले त्यसै नभएको भन्दै देउवाले भने, ‘दुइटा पार्टी मिले, जनताले भोट दिए त के गर्ने ? जनताको भोट त हाम्रो हातमा छैन नि । तपाईं (रामचन्द्र पौडेल) पनि हार्नुभएको हो ।’

यद्यपि समानुपातिक निर्वाचन पद्धतितर्फ एमाले र कांग्रेसको लगभग बराबर भोट रहेको उनले बताए । त्यसबेला आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुस् भनेको, तर एमाले अध्यक्ष केपी शर्मा ओलीतिर गएको उनले बताए ।

उनले अघि भने, ‘धेरै पटक प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले (रामचन्द्रतिर हेर्दै) तपाईंलाई त थाहा छ नि । खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठिक्क भा’छ ।’

अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि (सरकार गठनका लागि चाहिने) संख्या नपुगेको उनले बताए । ‘म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन । जो सुकै होस्, तयार पार्नुस् न मान्छे’ कांग्रेस सभापति देउवाले भने, ‘संख्या पुग्नु पर्‍यो नि ….। म चाहिँ संख्या नपुग्ने खेलमा छैन ।’

उनले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकोमा पार्टीलाई धन्यवाद दिए । पार्टीले निर्णय गर्दा पनि केही गरेन भन्लान् भनेर आफूले शुक्रबार नै बैठक बोलाएको भन्दै उनले आउन र सबैलाई (नयाँ सरकार गठनका लागि) तयार पार्न पौडेललाई आग्रह गरे । ‘तपाईं भन्नुस्, कसलाई बनायो भने (सहमति) हुन्छ । म तयार छु’ उनले अघि भने, ‘म आफैं हुनुपर्छ भनेको पनि छैन मैले ।’

राष्ट्रिय एकता, अखण्डतामा असर पर्नेबाहेका विषयमा सहमति गर्न आफू तयार रहेको देउवाले बताए ।

नयाँ सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो नहुनसक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए ।

‘जनताको मन जितेर हाम्रो सरकार बन्नसक्छ । जनताले बुझिसके’ उनले भने । यद्यपि प्रधानमन्त्री ओलीले राज्यका संयन्त्रहरु कब्जा गर्ने तथा सेना, प्रहरी लगायतलाई भ्रातृ संगठन जस्तो बनाउन खोजेको भन्दै उनले यो कुनै हालतमा स्वीकार नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment