
२७ चैत, काठमाडौं । स्थानीय सरकारप्रति जनताको विश्वास बढेको एक सर्वेक्षणले देखाएको छ ।
काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टसले इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) र दि एसिया फाउन्डेशनसँग मिलेर गरेको सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशतले स्थानीय निकायका वडाध्यक्ष/सदस्यलाई विभिन्न विषय वा अवस्थामा विश्वास गर्ने बताएका हुन् ।
प्रदेश र संघ र प्रदेशभन्दा स्थानीय सरकार बढी उत्तरदायी भएको पाइएको छ । ५८.९ प्रतिशतले स्थानीय सरकारको उत्तरदायी भूमिकाको प्रशंसा गरेका छन् ।
४४.२ प्रतिशतले प्रदेश सरकारको र ४३.६ प्रतिशतले संघीय सरकारको उत्तरदायी भूमिकाको प्रसंशा गरेका छन् ।
शुक्रबार सार्वजनिक सर्वेक्षणमा देशको समग्र अवस्थाप्रति जनधारणा, सुरक्षा र विवाद समाधान, पहिचान र सामाजिक सम्बन्ध, शासन र राजनीतिमा सहभागिता र आर्थिक दृष्टिकोण र सूचनामा पहुँचबारे जनमत समेटिएको छ ।
सर्वेक्षणमा सातै प्रदेशका ५८८ वडाहरूबाट छानिएका ७,०६० जना प्रतिनिधि सहभागी थिए । सन् २०१७ मा शुरु गरिएको यो सर्वेक्षण सन् २०१८ हुँदै तेश्रो पटक सन् २०२० मा भएको हो ।
प्रतिक्रिया 4