 
																			नर्वे । जन्मदिन मनाउँदा नियम उल्लंघन भएको भन्दै नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगलाई २० हजार क्रोनर (करिब दुई लाख ८० हजार नेपाली रुपैयाँ) जरिवाना हुने भएको छ ।
प्रधानमन्त्री सोल्वेगले गत फेब्रुअरी २५ का दिन आफनो ६०औं जन्मदिन मनाउन आफूसहित १४ जना परिवारिक सदस्यसँग दुई दिनको लागि नर्वेको राजधानी ओस्लो बाहिर होल नगरपालिकामा गएकी थिइन । सोही क्रममा कोरोना रोग नियन्त्रण गर्न नर्वे सरकारले जारी गरेका नियमको उल्लघंन भएको सरकारी संचारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो ।
समाचार सार्वजनिकसँगै प्रहरीले अनुसन्धान थालेको थियो । शुक्रबार अनुसन्धान सम्पन्न गरेर प्रहरीले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सोल्वेगबाट नियमको उल्लघंन भएको निष्कर्ष निकाल्दै २० हजार क्रोनर जरिवाना हुने निर्णय सुनाएको छ ।
स्थानीय दक्षिण-पूर्वी जिल्ला पुलिस प्रमुख ओले बी. सवेरुदले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनताको विश्वास कायम राख्न पनि संक्रमण नियन्त्रणका नियमहरु उल्लघंन गरेपछि त्यसको भागीदार प्रधानमन्त्री सोल्वेग हुनुपर्ने बताए । ‘कानुन सबैको लागि बराबर हो,’ सवेरुदको भनाइलाई उल्लेख गर्दै नर्वेको सरकारी संचारमाध्यम एनआरकेले लेखेको छ, ‘नियम अनुसार उनलाई २० हजार क्रोनर जरिवान हुनेछ ।’
तत्कालीन समयमा जारी नियममा व्यक्तिगत भेटघाट तथा कार्यक्रमको लागि १० जनाभन्दा बढी संख्यामा भेला गर्न नपाउने उल्लख थियो । तोकिएको संख्याभन्दा बढी भेला गरेर व्यक्तिगत कार्यक्रम गरेमा तत्कालीन समयको नियमले २० हजार जरिवाना हुने तोकेको छ ।
प्रधानमन्त्री सोल्वेग आफूसहित १४ जना परिवारिक सदस्य लिएर कोल नगरपालिका पुगे पनि उनी भने सोही दिनै फर्किएकी थिइन । आँखामा समस्या देखिएपछि उपचारको लागि ओस्लो फर्केकी प्रधानमन्त्री सोल्वेग पुनः त्यहाँ पुगिनन् । प्रहरीका अनुसार व्यवस्थापनमा प्रधानमन्त्री सोल्वेगका श्रीमानको भूमिका रहे पनि आयोजक प्रधानमन्त्री सोल्वेग रहेकाले उनलाई नियम अनुसार जरिवाना तोकिएको हो ।
समाचार सार्वजनिकपछि तत्कालै माफी मागेकी प्रधानमन्त्री सोल्वेगले नियमले तोकेको जरिवाना तथा कारबाही भोग्न तयार रहेको बताएकी थिइन । शुक्रबार प्रहरीले उनलाई २० हजार जरिवाना हुने निर्णय सुनाएपछि उनले आफूबाट भएको गल्तीप्रति क्षमप्रर्थी रहेको बताएकी छन । ‘मैले नियम उल्लंघन गरेको हुँदा अन्य व्यक्ति जस्तै गरेर नियम अनुसार जरिवाना तिर्नेछु ।’ प्रधानमन्त्री सोल्वेगको भनाइलाई उद्धृत गर्दै एनआरकेले उनको टिप्पणी उल्लेख गरेको छ ।
समाचार सार्वजनिक भएपछि एनआरकेसँग कुराकानी गर्दै सोल्वेगले आफूबाट भएको गल्तीको ‘रिगरेट फिल’ गर्दै माफी मागेकी थिइन । ‘म प्रत्येक दिन कोरोना संक्रमणको लागि काम गर्ने तथा नियम बनाउने गर्दछु,’ उनले त्यसबेला एनआरकेसँग कुराकानी गर्दै भनेकी थिइन्, ‘यस अर्थमा पनि नियम राम्रोसँग थाहा भएर कार्यन्वयन गर्नपर्ने हो । तर, मैले नियमहरुको राम्रोसँग याद नगर्दा गल्ती हुनगयो । म माफि चाहान्छु ।’ उनले कोरोना दिनप्रतिदिन बढिरहेकाले सरकारबाट जारी गरिएका नियमहरु पूर्णरुपमा पालना गर्न पनि जनतालाई अनुरोध गर्दै आएकी छिन ।
नर्वेमा कोरोना संक्रमणको दर बढ्दै गएपछि दोस्रो पटक नोभेम्बरबाट कोरोना नियन्त्रणको मापदण्डहरु लागू गरिएको छ । त्यस यता कोरोना नियन्त्रणको लागि नियमहरु झन कडा बनाउँदै लगेको छ । केही समयअघिसम्म १० जना बढी भेला हुन नपाउने नियम थियो भने अहिले दुई जनाभन्दा बढी जम्मा हुन नदिने नियम जारी छ । खोप कार्यक्रम पनि निरन्तर चलिरहेको हुँदा अप्रिलपछि क्रमिकरुपमा चरणचरणमा बन्द गरिएका क्षेत्रहरु खुलाउँदै जाने योजना सरकारको छ ।
नर्वेमा हालसम्म १ लाख बढी बढी संक्रमित भइसकेका छन । ज्यान जानेको संख्या ६ सय ८४ जना रहेका छन । नर्वेको जनसंख्या आप्रवासी नागरिकसहित ५४ लाख रहेको छ । हालसम्म करिब ७ लाखले खोप पाएको तथ्यांक छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4