Comments Add Comment

दुई वर्ष अगाडि नै विस्थापित बोइङ जहाजका पार्टपुर्जा बल्ल बिक्रीमा

फाइल तस्वीर

२९ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वर्ष अगाडि नै आफ्ना तीन दशक पुराना दुई जहाज बोइङ ७५७ विस्थापन गरेको थियो । तर, यी दुई जहाजका पार्टपुर्जा भने बल्ल बिक्रीमा राखिएको छ । नेपाल एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार जहाज विस्थापन गरिए पनि यी जहाजका पार्टपुर्जा तथा इन्जिनसमेत सार्वजनिक गरिएको थिएन ।

‘नियतवश हो वा कारणवशः थाहा भएन, दुई वर्ष अगाडिदेखि नै यी सामान सार्वजनिक भएका थिएनन्, अहिले हामीले खोजेर टेन्डर आह्वान गरी बिक्रीमा राखेका छौं’, ती अधिकारीले अनलाइनखबरसँग भने । उनका अनुसार जहाज नै विस्थापन भएपछि यी पार्टपुर्जा अब निगमलाई काम लाग्दैनन् । निगमले २ अप्रिलमा एउटा इन्जिनसहित विभिन्न पार्ट्सहरु जहाँ जुन अवस्थामा छन्, त्यही अवस्थामा बिक्री गर्ने गरी टेन्डर आह्वान गरेको छ । ती अधिकारीका अनुसार यसरी बिक्रीमा राखिएका इन्जिन र पार्ट्सको मूल्य ३५ करोड रुपैयाँ बराबर हुन आउँछ ।

इन्जिन स्पेनबाट बेचिंदै

यसरी बिक्रीमा राखिएका पार्ट्समध्ये एउटा इन्जिन पनि छ । यो इन्जिन अहिले स्पेनमा रहेको छ । तर, जहाज विस्थापन गर्ने बेला एउटा इन्जिन स्पेनमा पठाइएको छ भनेर सार्वजनिक गरिएको थिएन । ‘मर्मतका लागि स्पेन पुर्‍याइएको जहाजको एउटा इन्जिन समेत यो सूचीमा छ’ उनले भने, ‘जहाजमा भएका दुई इन्जिनको मात्र मूल्यांकन भएको पाइयो ।’ उनका अनुसार यो इन्जिन मर्मत गर्न स्पेन लगिएको थियो । तर, नेपालमा यो मोडलको जहाज नै फेजआउट गर्ने निर्णय भएसँगै मर्मत रोकिएको थियो । त्यसपछि नेपाल नल्याइएको यो इन्जिनसमेत अब सोही मुलुकबाट बिक्री गरिने भएको हो । ‘जहाज नै बिक्रीमा राखेपछि इन्जिन किन नबेचिराखिएको होला, अचम्म परेका छौं’, उनले भने ।

निगमले कम्पनीसँग भएका दुई बोइङ ७५७ जहाजमध्ये एउटा सन् २०१७ मै बिक्री गरेको थियो । दोस्रो जहाज बिक्रीका लागि भने असार २०७६ मा टेन्डर निकालिएको थियो । त्यसपछि यो जहाज बिक्री भएको थियो । यद्यपि सो जहाज कोरोनाको कारण देखाउँदै खरीदकर्ता कम्पनीले लगेको भने छैन । जहाज अहिले त्रिभुवन विमानस्थलको रिमोट पार्किङ क्षेत्रमै थन्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment