
२९ चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमागि जनता समाजवादी पार्टी (जसपा) मा छलफल सुरु भएको छ ।
आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल गरेको हो ।
गत हप्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सहयोग मागेका थिए ।
त्यतिबेला स्पष्ट जवाफ नदिएका जसपा नेताहरु नयाँ सरकार गठनकै विषयमा छलफलमा जुटेकाे एक नेताले जानकारी दिए ।
बैठकपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका विषयमा छलफल भएको तर निश्कर्षमा नपुगेको बताए । ‘छलफल शुरु भएको छ, भोलि पर्सि पनि कन्टिन्यु हुन्छ, बैठकहरु चलिरहेको छ, निश्कर्षमा पुगेको छैन’ उनले भने ।
उनले वर्तमान सरकारमा सहभागी हुने विषय असम्भव भएको बताए । ‘प्रतिगमनकारीसँग क्रान्तिकारी कहिले मिल्छ र ?’ उनले प्रश्न गरे ‘प्रतिगमनलाई समर्थन गर्ने, प्रतिक्रान्तिलाई सघाउते, प्रतिगमनलाई बल पुर्याउने कुरा हुँदैन ।’
जनता समाजवादी पार्टीमा सरकारमा जाने वा नजाने विषयमा दुई मत छ । तत्कालिन समाजवादी पार्टीका डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरु यो सरकार विस्थापन गरेर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।
तर तत्कालिन राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफलमा छन् । उनीहरुले आफूहरुको मुद्दा सम्बोधन मुख्य कुरा भएको बताउँदै आएका छन् ।
प्रतिक्रिया 4