Comments Add Comment

धरहराको उद्घाटन वैशाख ११ मा गर्ने तयारी  

Photo Credit : Rajendra Dulal

२९ चैत, काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै राखिने उनले जानकारी दिए ।

‘२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा हामी २०७८ वैशाख ११ गते फेरि उद्घाटन गर्दैछौं’ उनले भने, ‘शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन तोकेका हौं ।’

उनका अनुसार धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् ।

पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा उठ्नु गौरवको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ । अहिले भने सिसा भित्र हालिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment