Comments Add Comment

कर्णाली प्रदेशसभाको अधिवेशन वैशाख ३ गते बाेलाउन सिफारिस

३० चैत, सुर्खेत । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

वैशाख ३ गते दिउँसो २ बजे पहिलो बैठक बस्ने कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । यसअघि कात्तिक ९ गते प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ । एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि ३ गते बस्ने बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।

मुख्यमन्त्री शाहीले उक्त बैठकबाट राजीनामा दिन्छन् वा विश्वासको मत प्राप्त गर्छन् भन्ने बारेमा धेरैको ध्यान केन्द्रित छ । तर, मुख्यमन्त्री शाहीले राजीनामा नभई विश्वासको मत लिने माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीको दाबी छ ।

‘मुख्यमन्त्रीज्यूले राजीनामा दिनुहुन्न, अन्य दलहरुसँग छलफल भइरहेको छ । संसदबाटै विश्वासको मत लिनुहुन्छ,’ प्रमुख सचेतक नेपालीले भनिन् ।

सर्वोच्चको फैसलापछि नेकपा एकता भंग भई एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कर्णालीमा रहेको माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

चैत ४ गते बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

समर्थन गरेको दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ । वैशाख ३ गते नै सरकारलाई दिइएको समर्थन फिर्ता लिएको ३० दिन पुग्छ ।

नयाँ वर्षमा नयाँ सरकार गठन हुने प्रक्रिया शुुरु हुने संकेत देखिएको एमालेका सांसद सुशील थापाले बताए । ‘नयाँ वर्षमा नयाँ सरकार बन्ने छ, वैशाख ३ गते साँझबाट नयाँ सरकारको प्रक्रिया शुरु हुन्छ,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेकपा एमालेमा फरक विचार समूह बनाएर अगाडि बढेको माधव नेपाल समूहको आड लिन खोजेका मुख्यमन्त्री शाहीले पछिल्लो समय त्यो पनि गुमाएका छन् । चैत २४ गते यो समूहमा रहेका तीनजना मन्त्रीले पनि राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment