Comments Add Comment

युके भेरियन्टको संक्रमण फैलिँदो, डबल म्युटेन्ट पनि पुष्टि

१ वैशाख, काठमाडौं । ठूला शहरहरुमा कोरोना भाइरस (कोभिड–१९) को यूके भेरियन्ट (नयाँ समूह) को संक्रमण फैलिएको पाइएको छ । साथै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १७३, बाँकेका ६७, ललितपुरका ६१, रुपन्देहीका ४२ र चितवनका ३५ जना छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार संकमण फैलिनुमा युके भेरियन्ट बढी जिम्मेवार छ । उनका अनुसार जनवरीको पहिलो साता ४ प्रतिशत पीसीआर पोजेटिभमा एस जिन नेगेटिभ थियो, जुन मार्च महिनाको अन्त्यमा आइपुग्दा ७७ प्रतिशत पुगेको छ ।

एस जिन नेगेभिट भएकामध्ये अधिकांशमा यूके भेरियन्ट पाइएको छ । एस जिन नेगेटिभ भएका १० वटा र एस जिन पोजेटिभ आएका ५ वटा नमुना जिन सिक्वेन्सिङका लागि हङकङस्थित प्रयोगशालामा पठाएको थियो ।

ईडीसीडीका अनुसार यूके भेरियन्टबाट संक्रमित हुनेमा बालबालिका र किशोर तथा युवा बढी छन् । काठमाडौं उपत्यका र पोखराको तथ्यांकले पनि यही भन्छ ।

एस जिन नेगेटिभ भएका १० मध्ये ९ वटा नमुनामा यूके भेरियन्ट (बी.१.१‍.७) पुष्टि भएको छ । २१ देखि ५९ वर्ष उमेर समूहका उनीहरुमध्ये ४ जना काठमाडौंका थिए भने २/२ जना भक्तपुर र पोखरा तथा एक जना नुवाकोटका हुन् ।

ईडीसीडीका प्रमुख पौडेलकाअनुसार दार्चुलाका एक व्यक्तिको नमुनाको भने जिन सिक्वेन्सिङ हुन सकेन ।

यस्तै हङकङ पठाइएका एस जिन पोजेटिभ आएका ५ वटा नमुनामध्ये एकमा डबल म्युटेन्ट भेटिएको छ । ‘भारतमा पत्ता लागेको र अहिलेसम्म भेरियन्ट अफ कन्सर्न भनेर घोषणा नभएको डबल म्युटेन्ट भेटिएको छ । त्यो ललितपुरको नमुना थियो’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ब्रिफिङमा ईडीसीडी निर्देशक पौडेलले भने, ‘यसले बताउँछ कि हाम्रोमा नयाँ भेलियन्ट फैलिएको छ र अहिले संक्रमण बृद्धि हुँदै जानुमा यूके भेरियन्ट मुख्य जिम्मेवार छ ।’

ईडीसीडीका अनुसार नेपालमा यूके भेरियन्टबाट संक्रमित हुनेमा बालबालिका र किशोर तथा युवा बढी छन् ।

काठमाडौं उपत्यका र पोखराको तथ्यांकले पनि यही भन्छ ।

काठमाडौं उपत्यकामा र्‍याण्डम स्याम्पलिङ विधिबाट ७६ वटा नमुना संकलन गरिएको थियो । त्यसमा ४८ जनामा एस जिन नेगेटिभ भेटिएको छ ।

उनीहरुमध्ये करिव २० प्रतिशत २० वर्षमुनिका छन् । चार वर्ष मुनिका २ जना, ५–९ वर्षका एक जना, १०–१४ वर्षका ३ जना र १६–१९ वर्षका चार जनामा एस जिन नेगेटिभ भेटिएको छ ।

यस्तै पोखराबाट लिइएको १७६ नमुनामध्ये १०५ मा एस जिन नेगेटिभ भेटिएको छ । उनीहरुमध्ये ५१ जना १० देखि १४ वर्ष उमेर समूहका थिए । उनले अघि भने, ‘यसले कुन समूहमा नयाँ भेरियन्ट फलिएको छ भन्ने देखाउँछ ।’

के हो डबल म्युटेन्ट ?

एउटै भाइरसमा वास्तविक स्वरुप परिवर्तन भई बनेको दुई प्रकारको स्वरुप देखिनुलाई ‘डबल म्युटेन्ट’ भनिन्छ । डबल म्युटेन्ट हुँदा एउटै कोरोना भाइरसमा यसअघि नै आफ्नो स्वरुप परिवर्तन गरिसकेका दुई नयाँ प्रकारको कोरोनाको केही भाग देखिन्छ ।

अन्य भाइरसजस्तै कोरोना भाइरस पनि एक व्यक्तिबाट अर्कोमा सर्दा केही परिवर्तन हुन्छ । यसरी परिवर्तन हुनुलाई ‘म्युटेसन’ भनिन्छ । म्युटेसन aहुँदा भाइरसको स्वरुपमा ठूलो परिवर्तन भने हुँदैन र भाइरसको स्वभाव पनि परिवर्तन हुँदैन । यद्यपि केही म्युटेसनमा भने मानव कोषमा भाइरस प्रवेश गराउन सहयोगी भूमिका खेल्ने प्रोटिन बढ्छ, जसको कारण म्युटेट भएको भाइरस बढी संक्रामक हुन्छ ।

भारतमा डबल म्युटेन्टका केस धेरै भेटिएको छ । यद्यपि औपचारिक रुपमा नयाँ भेरियन्ट घोषणा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment