Comments Add Comment

वायु प्रदूषणको अवस्था र नियन्त्रणको उपाय

केही दिनदेखि नेपालका अधिकांश क्षेत्रमा डढेलो लागेर देशका धेरै स्थानमा वायुको गुणस्तर सूचकांक अत्यन्त खतरनाक अवस्थामा पुगेको छ । छिटफुट वर्षासँगै डढेलो केही मात्रामा नियन्त्रण भई देशभरको वायु गुणस्तरमा सुधार हुँदै आएको छ । सामान्यतया चैत महीनामा नेपालमा धेरै आगलागीका घटना हुने र जंगलमा डढेलो लाग्ने गर्छ । यसले वायुमा प्रदूषणको मात्रा बढ्छ ।

विभिन्न भू–उपग्रह तस्विर र जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई हेर्दा यस वर्ष सामान्य भन्दा थोरै वर्षा भएको र हावाको गति समेत कम भएको देखिन्छ । फलस्वरुप विगत तीन महीनादेखि काठमाडौं संसारकै धेरै वायु प्रदूषण भएको शहरको सूचीमा बारम्बार पर्दै आएको छ ।

कसरी शुरू भयो ?
अहिलेको वायु प्रदूषण विगत केही महीना अघिको भन्दा अधिक र असामान्य रह्यो । जनस्वास्थ्यका हिसाबले यो हानिकारक छ । यसपटक पहिलोपल्ट वायु प्रदूषणका कारण स्कूल र कलेज समेत बन्द गर्नुपर्‍यो । हवाई उडानहरू प्रभावित भए । तर यस्तो परिस्थिति एकैपटक आइलागेको होइन ।

यसलाई बुझ्नका लागि हामीले अलिक पछाडि फर्कनुपर्ने हुन्छ । यस वर्ष मन्सुनपछि (असार–भदौ) लगभग सबै महीना सुक्खा रहे । सुक्खा मौसमका कारण हिउँदे बाली लगाइने क्षेत्रको कृषि उत्पादनलाई त असर गर्‍यो नै त्यसैगरी देशमा सम्पूर्ण भू–भागका वन तथा वनस्पति र जमीन समेत औसत भन्दा सुक्खा रहे । त्यसले जंगलमा आगलागीको जोखिम बढ्यो ।

डढेलोका घटना असामान्य रूपमा बढ्दै गए । हालसम्म नेपालमा प्राकृतिक रूपमा डढेलो लाग्ने प्रमाण फेला परेको छैन । गाउँलेको भनाइ अनुसार वनमा हिंड्दा चिप्लेर नलडियोस्, च्याउ पलाओस्, घाँस राम्ररी उम्रियोस् र बर्खामा खरानी बगेर बेसीमा भएको खेतमा मल बनोस् भनेर डढेलो मान्छेले नै लगाउने गर्छन् ।

डढेलोले वायुको गुणस्तरमा मात्र प्रभाव पारेको छैन, तराईदेखि मध्यपहाडी क्षेत्रका वन, जैविक विविधता, वन्यजन्तुको वासस्थान र समग्र पारिस्थितिक प्रणालीमा नै असर पारेको छ । मौसमी हिसाबले हालको समय सामान्यभन्दा बढी सुक्खा र आगलागीको सम्भावना अधिक भए पनि यसले पुर्‍याएको क्षति भने अस्वाभाविक देखिन्छ ।

अहिलेको वायु प्रदूषण विगत केही महीनाअघिको भन्दा अधिक र असामान्य रह्यो । यसपटक पहिलोपल्ट वायु प्रदूषणका कारण स्कूल र कलेज समेत बन्द गर्नुपर्‍यो । हवाई उडान प्रभावित भए ।

डढेलोका प्रमुख कारण असावधानी, चेतनाको अभाव, व्यापक हेल्चेक्र्याईं, राज्यको कमजोर व्यवस्थापन प्रणाली, डढेलो नियन्त्रण गर्ने सीप, स्रोत र साधनको अभाव आदि हुन् । फलतः देशका अधिकांश भागमा एकैपटक डढेलो लाग्यो र त्यसबाट निस्किएको धुवाँ वायुमण्डलमा फैलिएर हावालाई अत्यन्तै दूषित बनायो । जसले कोरोना महामारीका कारण लामो समय बन्द हुनपुगेका देशभरका शैक्षिक संस्थाहरू पुनः केही समय बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो ।

बालबालिका एवं ज्येष्ठ नागरिकको जनजीवन डढेलोबाट उत्पन्न वायु प्रदूषणले कष्टकर बनाएको छ । युवा र आर्थिक रूपमा सक्रिय उमेर समूहका मानिस जनस्वास्थ्यलाई जोखिममा पारेर दैनिक कार्यसञ्चालन गर्न बाध्य छन् । चिकित्सकहरूका अनुसार अहिलेको वायु प्रदूषणले आँखा र श्वासप्रश्वासका बिरामी बढिरहेका छन् ।

कस्तो हुनुपर्छ तयारी ?
यस वर्ष वर्षापछि लगभग सबै महीना सुक्खा रहे पनि मौसम र जनस्वास्थ्यसँग सरोकार राख्ने सरकारी निकाय, संघसंस्था र व्यक्तिहरूले चैत महीनालाई सामान्य रूपमै लिएको पाइयो । कुनै पूर्व सूचना र पूर्व तयारी पनि भएको पाइएन ।

वर्षाको प्रवृत्तिलाई हेर्दा सुक्खा समयमा यसप्रकारको घटना घट्न सक्ने सम्भावना थियो र आवश्यक कदम चालेर सतर्क हुन सकिन्थ्यो । तर सम्पूर्ण सरोकारवाला पक्ष यसको अध्ययन, अनुसन्धान र भविष्यवाणी गर्न चुकेको देखिन्छ । सामान्यतया विश्वका धेरै देशमा सुक्खा मौसममा आगलागीको जोखिम क्षेत्रमा सम्पूर्ण खालका आगोसँग सम्बन्धित क्रियाकलापमा प्रतिबन्ध लगाइन्छ ।

मौसम भविष्यवाणी गर्दा आगलागीको सम्भावनालाई पनि समावेश गरिएको हुन्छ । यदि आगलागीको सम्भावना भविष्यवाणी भयो भने त्यसलाई आधार मानेर सम्बन्धित निकायहरूले सूचना जारी गरी सबै खालका आगलागी हुनसक्ने क्रियाकलापमाथि बन्देज लगाउँछन् । जसले गर्दा आगलागीबाट हुने क्षति न्यूनीकरण हुने र आगलागी रोकथाममा पनि सहयोग हुने गर्दछ । नेपालमा पनि मौसम भविष्यवाणी गर्दा सुक्खायाममा आगलागीको भविष्यवाणी अनिवार्य गर्नुपर्ने देखिन्छ ।

डढेलोको कारण तराईदेखि मध्यपहाडी क्षेत्रको धेरै भागमा वन विनाश भएकाले वैशाख र ज्येष्ठ महीनामा खोला, नाला, कुवा र मूल सुक्न गई पानीको चरम अभाव हुन्छ । यसले जनजीवन कष्टकर हुनसक्ने देखिन्छ । हाल डढेलोले नांगो पारेका पाखाहरूमा वर्षाको समयमा माटो बग्ने, खोल्सी बन्ने र पहिरो जानसक्ने हुनाले विपत्बाट जोगिन समयमै सचेत हुनुपर्ने र जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

आगामी बाटो
हरेक वर्ष जस्तो हुने आगलागीबाट वन त विनाश भइरहेको छ । यसबाट सिर्जित धुवाँले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । आगामी दिनमा न्यूनीकरणका उपाय नअपनाए परिस्थिति झन् भयावह बन्नेछ ।

अत्यधिक वन डढेलो र तराईका जिल्लाहरूमा बालिने पराल तथा कृषि फोहोरबाट सिर्जित धुवाँ अहिलेको प्रदूषणको कारक हो । तर स्थानीय हिसाबमा हुने धूलो, यातायातका साधन, उद्योग कलकारखानाले पनि प्रदूषण नबढाएका होइनन् । सचेतनाको कमी साथै वन्यजन्तु चोरीनिकासी गर्ने उद्देश्यले लगाउने आगो नै वन डढेलोको प्रमुख कारण हो ।

डढेलोका प्रमुख कारण असावधानी, चेतनाको अभाव, व्यापक हेल्चेक्र्याईं, राज्यको कमजोर व्यवस्थापन प्रणाली, डढेलो नियन्त्रण गर्ने सीप, स्रोत र साधनको अभाव आदि हुन् ।

दिगो रूपमा प्रदूषण नियन्त्रणका उपाय र आगामी दिनहरूमा सरकारी तथा गैरसरकारी संस्थाहरूबाट चलाइने सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा स्थानीय तह र अति डढेलो प्रभावित क्षेत्रमा लैजान सके केही हदसम्म कम गर्न सकिन्छ । सुक्खायाममा प्राकृतिक या मान्छेहरूको नियतवश हुने वन जंगलको आगलागीलाई हामी सामुदायिक र सरकारी प्रयासबाट कम गराउन सक्छौं ।

राष्ट्रिय वातावरण नीतिअन्तर्गत वातावरणीय न्यायका नीति, रणनीति तथा कार्यनीतिको कार्यान्वयन गर्न जरूरी छ । त्यसैगरी, वन ऐन २०७६ को दफा ४९ अनुसार ‘राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा’ कसुर गरेको मानी दफा ५० अनुसार उक्त कसुर गर्नेलाई ‘क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ व्यवस्था कार्यान्वयन गराउन जरूरी छ ।

विद्युतीय सवारी साधनको प्रवर्द्धनका साथै बढी धुवाँ निकाल्ने कलकारखानाहरू जस्तै इँटाभट्टाहरूलाई शहरभन्दा टाढा व्यवस्थापन गर्न सके वायु प्रदूषण कम हुनेछ ।

(पोखरेल, त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागमा सह–प्राध्यापक र शर्मा, अन्वेषक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment