Comments Add Comment

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले बिहीबार प्रदेश प्रमुख कार्यालयका सचिव हरि वास्तोलालाई भेटी विशेष अधिवेशन माग गरेको निवेदन बुझाएका हुन् ।

प्रदेशसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले बैठकको मिति र समय तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले बिहीबारै प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराई उक्त प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका हुन् ।

विशेष अधिवेशन माग गर्दै पत्र बुझाउन गएका दलका नेताहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले भेट्न भने अस्वीकार गरे । उनले भेट्न अस्वीकार गरेपछि नेताहरुले प्रदेशप्रमुख कार्यालयका सचिवलाई पत्र बुझाएर फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment