Comments Add Comment

नेपाल ट्रष्टले खाली गरायो काठमाडौं प्लाजा, दुई पसलमा सिल

२ वैशाख,काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गराएको छ । ट्रष्टले चैत ३१ गतेसम्म भवन खाली गराउन प्लाजामा रहेको व्यवसायीलाई निर्देशन दिएको थियो । त्यसअनुसार बिहीबार भवन खाली गराइएको ट्रष्टका सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

‘केही व्यवसायीले सामान सार्दैछन्, उनीहरुलाई शनिबारसम्म समय दिएका छौं,’ उनले भने,’सामान सार्न अटेरी गरेका २ वटा पसलमा सिल गरेका छौं ।’ भवन खाली गर्न कुनै बल प्रयोग गर्नु नपरेको भुसालले बताए ।

कन्सेप्ट डेभलपर्स प्रालिसँगको पुरानो सम्झौता अनुसार २०७७ असार ३ मा नै यो भवन खाली भइसक्नुपर्ने थियो । यो भवन खाली गराएर काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय भइसकेको छ ।

३ असार २०५० मा तत्कालीन राजकीय सम्पत्ति कोष विभागका तत्कालीन सह-सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलका सुवासराज काफ्लेबीच वडा-३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो ।

काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रालिमा हस्तान्तरण भएपछि  २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम पुरानो करारनामाको अधिनमा रही पुनः करारनामा भएको थियो । त्यतिबेला सो जग्गा पूर्व राजपरिवारको भएकाले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको थियो ।

२०६६ पुस २३ गते नेपाल ट्रष्टको कार्यालयका तर्फबाट तत्कालीन उपसचिव टिकाराम घिमिरे र कन्सेप्ट डेभलपर्स प्रालिका तर्फबाट प्रवन्ध सञ्चालक सुनिलभक्त श्रेष्ठबीच सम्झौता पनि भएको थियो । सो सम्झौताको अवधि २०७७ असार २ सम्म थियो । सम्झौता सकिने भएपछि कन्सेप्ट डेभलपर्सले प्रतिमहिना ८ लाख दिने गरी नयाँ प्रस्ताव गर्यो । चल्तीको भन्दा कम मूल्य कबोल गरेको भन्दै ट्रष्टले पुनः सम्झौता नगर्ने निर्णय गर्‍यो ।

त्यसपछि कन्सेप्ट डेभलपर्सले २०७७ जेठ २८ गते मर्मत सम्भारमा ८ करोड खर्च गर्ने र सरकारी मूल्यांकनभन्दा दुई लाख बढी (प्रतिमहिना ६२ लाखसम्म) भाडा बुझाउने नयाँ प्रस्ताव पठायो ।

त्यसबेलासम्म ट्रष्टले भने यो भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय मन्त्रिपरिषदबाटै गराइसकेको थियो । काठमाडौं महानगरलाई मासिक ६० लाख भाडामा दिने गरी निर्णय भएको छ । मन्त्रिपरिषदले तेस्रो पक्षलाई भाडामा लगाउन नदिने गरी महानगरलाई भाडामा दिने निर्णय गरेको छ ।

तर, ट्रष्ट र महानगरबीच अहिलेसम्म सम्झौता भएको छैन । महानगरलाई भाडामा दिने निर्णयविरुद्ध सुवासराज काफ्ले अदालत गएका छन्, जसमा तत्काल सम्झौता नगर्न अन्तरिम आदेश भएको छ । यो मुद्दाको अन्तिम टुंगो वैशाख १९ गते लाग्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment