+
+
Shares

तटबन्धको नाममा उपभोक्ता समितिले माटो बेचेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १९:१२

३ वैशाख, वीरगञ्ज । बाराको प्रसौनी गाउँपलिका वडा नं ६ मा पर्ने बंगरी नदी नियन्त्रणको नाममा प्राकृतिक स्रोतको दोहोन भएको आरोप लागेको छ । नदी नियन्त्रणको बहानामा माटो निकालेर नजिकै निर्माणाधिन उद्योगमा बिक्री भइरहेको अरोप स्थानीयले लगाएका हुन् ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ३५ लाखमा बंगरी नदीमा तटबन्धको काम उपभोक्ता समिति मार्फत भइरहेको छ । वडा अध्यक्ष समेतको मिलेमतोमा उपभोक्ता समितिका पदाधिकारीले माटो उद्योगलाई बेचेको दावी स्थानीयको छ । प्रति ट्याक्टर ३ सय रुपैयाँका दरले उद्योगलाई माटो बिक्रि गरेको उनीहरुको भनाइ छ ।

प्राकृतिक स्रोतको दुरूपयोग भएको सूचना आएपछि स्थानीयले त्यसको विरोध गरेका छन् । स्थानीय नन्देश सिंहले नदी नियन्त्रणको नाममा अनियमितता भएको जानकारी पाएपछि विरोध गरेको बताए । ‘ माटो खनेर त्यहि हाल्नुपर्नेमा उद्योगलाई बेचिएको रहेछ ।’ उनले भने ‘ दिनमा भन्दा रातिमा बढी काम गर्ने गरिएको छ ।’

स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी सेमत रहेका सिंहले पछिल्लो तीन आर्थिक वर्षमा बंगरी नदी नियन्त्रणको नाममा अनियमितता भइरहेको दावी गरे । यस्तो कार्य तत्काल रोक्नुपर्ने माग राखेर आफूले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको उनले बताए ।

‘उद्योगसँग सम्झौता नै गरेर माटो बेचेको सूचना आएको छ, तर सम्झौता पत्र हात लागेको छैन ।’ उनले भने ‘उपभोक्ता समितिलाई वडा अध्यक्षले पनि साथ दिएका छन् ।’

वडा अध्यक्ष वृज किशोर कुशवाहसँग यसबारे बुझ्न खोज्दा मोबाईलमा सम्पर्क हुन सकेन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले पनि आफूकहाँ बंगरी नदी नियन्त्रणको क्रममा अनियमितता भएको गुनासो आएको बताए ।

‘ नदीजन्य पदार्थ उत्खनन गरेर उद्योगलाई बेचिएको भन्ने गुनासो म कहाँ पनि आएको हो । ’ उनले भने ‘ प्राकृतिक स्रोतको दोहन र दुरुपयोग गर्ने छुट कसैलाई छैन । प्रमाण पुग्यो भने संलग्नलाई कारबाही हुन्छ ।’

आफू विदामा रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भुजेलले काममा फर्किएपछि नदीको स्थलगत अध्ययन समेत गर्ने बताए । गाउँपालिकाले नदीजन्य पदार्थको दुरुपयोग नगर्न आग्रह गर्दा समेत अटेर गरेको पाइएको छ । मौखिक आदेश अटेर गरेपछि पालिकाले स्थानीय प्रहरी÷प्रशासनसँग रोक लगाउन पत्रमार्फत अनुरोध गरेको छ ।

‘योजना प्रमुख विवेक कुशवाहालाई पठाएर ट्याक्टर रोक्न भनेका हौं, तर अटेर गरेको जानकारी आयो ।’ उनले भने ‘ त्यसपछि लिखित रुपमा निर्देशन दिएका छौं, ईलाका प्रहरी कार्यालय प्रसौनीलाई समेत रोक्न आग्रह गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?