Comments Add Comment

केपी ओली सच्चिएनन्, पार्टी एक नहुने भो : रघुजी पन्त

४ वैशाख, पोखरा । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहले युवा संघको कास्की र पोखरा महानगरमा समानान्तर कमिटी बनाएको छ ।

पोखरामा शनिबार भएको युवाहरुको भेलाले १ सय १ सदस्यीय कास्की र पोखरा महानगर कमिटी गठन गरेको हो । आसिम गुरुङको अध्यक्षतामा युवा संघ कास्की कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा महेन्द्र कुँवर र नवराज देवकोटा छन् ।

सूर्यप्रकाश ढुंगाना सचिव, साजन तामाङ, सन्देश गर्बुजा, किशोर तिमिल्सिनालाई सहसचिवको जिम्मेवारी दिइएको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले जानकारी दिए । कोषाध्यक्षमा विश्व सुवेदी चयन भएका छन् ।

भेलाले सुमन ढुंगानाको अध्यक्षतामा १ सय १ सदस्यीय नै पोखरा महानगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष प्रहृलाद लामिछाने, दुर्गा थपलिया र शालिक बराल छन् । सचिवमा उज्ज्वल बस्नेत, सहसचिवमा हेमराज बराल, शशांक गौतम र रञ्चित गुरुङ छन् भने कोषाध्यक्ष रोशन थुलुङ राई चयन भएका छन् ।

नेपाल समूहका कास्की अध्यक्ष धनराज आचार्यले कमिटीको घोषणा गरेका थिए । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ खुवाए ।

सपथ खुवाएपछि नेता पन्तले देशैभरि केपी शर्मा ओली प्रवृतिलाई अन्त्य गर्न लडाईं चलिरहेको बताए । महाधिवेशनबाट निर्वाचित पदाधिकारी नै खारेज गर्ने ओलीको फागुन २८ गते निर्णय नसच्चिएसम्म कुनै पनि हालतमा पार्टी एक हुन नसक्ने पन्तले बताए । ‘ओलीलाई हामीले भनिरहेका छौं, फागुन २८ को निर्णयबाट ब्याक हुनुस् र सच्चिनुस् । जबसम्म निर्णय सच्चिन्न, तबसम्म आत्मसमर्पण गर्दैनौं’ पन्तले भने, ‘ओली सच्चिएनन्, पार्टी एक नहुने भो । ‘

फागुन २८ को निर्णय सच्याउने हो भने पार्टीमा खुला छलफल गरेर अगाडि बढ्न सकिने पन्तले बताए । आफूहरुले नभइ ओलीले एमालेमा समान्तर कमिटी बनाएको पन्तको दाबी थियो । ‘सर्वोच्चले ०७५ जेठ २ कै अवस्थामा पार्टीलाई फर्काइदिए पछि केन्द्रदेखि तलसम्म त्यही कमिटी हुनुपर्ने होइन ? तर, ओलीले विधिविधान मिचेर सबै नेता कार्यकर्ता हटाउँदै, कारबाही गर्दै जानुपर्ने कारण के थियो ?’ पन्तले भनिन्, ‘के एमाले नेता कार्यकर्ताले अपराध गरेका थिए । ओली नसच्चिएसम्म अब पार्टी एक हुन नसक्ने स्थिति आयो ।’

ओली प्रवृतिसँग लड्न सर्वसत्तावादलाई हटाउने गरी युवाहरुले लड्नुपर्ने पन्तको भनाइ थियो । पन्तले युवाहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउँदै हरेक ठाउँमा प्रश्न गर्न आग्रह गरे ।

भेलामा बोल्ने एमाले तथा युवा संघका नेताले अब ओलीको सर्वसत्तावाद धेरै समय नटिक्ने बताएका थिए । एमाले केन्द्रीय सदस्य दिलु पन्तले पार्टीभित्रको अपमान सहन नसकेर विद्रोह गर्ने तहसम्म नेताहरु आइपुगेको बताइन् । ७७ जिल्लामै युवा संघ गठन हुने र पार्टीभित्रको अतिवादविरुद्ध लड्ने उनको भनाइ थियो ।

एमाले बागलुङका अध्यक्ष तथा प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले ओलीकै कारण बलियो पार्टी आज कमजोर र विभाजित बनिरहेको बताए । ओली नसच्चिएसम्म पार्टीभित्र विद्रोह नरोकिने र युवाहरुले सत्य, न्यायको पक्षमा लड्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

भेलामा एमाले केन्द्रीय सदस्य श्रीनाथ बराल, एमाले निर्वाचन आयोग सदस्य विजयबाबु वनवासी, पृथ्वीनारायण क्याम्वसका पूर्व स्ववियु सभापति सोभियत ढकाललगायतले ओलीको सर्वसत्तावाद अब धेरै दिन नटिक्ने दाबी गरे ।

नेता माधवकुमार नेपालले चैत १९ गते कास्कीमा धनराज आचार्यको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेका थिए । चैत २५ गते १ सय ४९ सदस्यीय कमिटीलाई केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सपथ खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment