Comments Add Comment
व्यक्ति-चित्र :

निशान भन्छन् : सोचेकै थिएन यो सफलता मिल्छ भनेर…!

५ वैशाख, काठमाडौं । निशानले त्यसभन्दा अघि पनि धेरै प्रतियोगितामा भाग लिए तर उनको चर्चा भएन । उनको चर्चा सुरू भयो, ‘नेपाल आइडल सिजन वान’ मा सहभागी भएदेखि ।

पछिल्लो समय २५ वर्षीय निशान भट्टराई गायनमा छाएका र विशेषगरी पाश्र्व गायनमा व्यस्त छन् ।

उनले ‘भिजिट भिसामा’, ‘लाइदेउ माया पिरिम’ जस्ता चलचित्रका गीत गाइसके । लकडाउनको समयमा सार्वजनिक भएको ‘के माया लाग्छ र ?’ उत्तिकै लोकपि्रय भयो । ‘ए मेरो हजुर-४’, ‘झिंगे दाउ’ लगायत चलचित्रका लागि गीत रेकर्डिङ गरिसकेका छन् । अन्य एल्बमका गीत पनि गाइरहेका छन् ।

गायकीकै कारण उनी निर्माता/निर्देशक, संगीतकार तथा गीतकारको नजरमा परिरहेका छन् । उनले गाएका धेरै गीत श्रोता/दर्शकले रुचाएका छन् । निशान रेकर्डिङ स्टुडियोमा मात्र होइन स्टेजसम्म चलेका देखिन्छन् ।

विगत सुन्दा लाग्छ निशान गीत गाउनकै लागि जन्मिएका हुन् ।

000

मोरङको उर्लाबारीमा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् निशान । उनलाई सानैदेखि गीत गाउने रुचि थियो । चार-पाँच वर्षको उमेरदेखि; तोते बोलीमै गीत गाउँथे रे ! कसरी रुचि बढ्यो ? त्यो उनैलाई पनि सम्झना छैन । तर सांगीतिक कार्यक्रम, रेडियोमा बज्ने संगीतको धुनले निशानलाई त्यो बेलादेखि नै तान्थ्यो ।

निशानको प्रतिभा तथा रुचिलाई परिवार र विद्यालयले साथ दियो । ‘यु केजीमा पढ्दा विद्यालयमा गीत गाएको थिएँ । त्यो तस्वीर सँगालेर राखेको छु’ निशानले अनलाइनखबरसँग सुनाए, ‘मलाई विद्यालयबाट पनि सपोर्ट भएको हो । मैले गीत गाउँछु भन्ने थाहा पाएपछि, मेरो स्वर सुनेपछि विद्यालयले मेरै लागि भनेर संगीत गुरु (विशाल राई)को व्यवस्था गरिदिएको थियो ।’

सोही समय निशान राष्ट्रिय बाल गीत प्रतियोगितामा सहभागी हुन् संगीत गुरु राईसँगै काठमाडौं आएको सम्झन्छन् ।

उनी सानैदेखि पढाइका अतिरिक्त विद्यालयमा गीतसंगीत सिक्ने, गुनगुनाउने, आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै गायन प्रतियोगितामा भाग लिन जाने गर्थे ।

आफूलाई संगीत सिकाउने विशालकै कम्पोजिसनमा उनले गुनगुनाउने एउटा गीत यस्तो थियो –

फुच्चे फुच्चे नभन है, सबले हामीलाई
यही फुच्चेको खाँचो पर्ला, भोलि देशलाई

स्कूले उमेरमा मोरङ र आसपासमा हुने सांगीतिक कार्यक्रम, सांगीतिक प्रतियोगितामा निशानले गीत गाए ।

कक्षा ७ मा पढ्दै गर्दा निशान उर्लाबारीमै बिहानी कला केन्द्रमा (यशोदा शाक्य र कमला खनालसँग) संगीत सिक्न थाले । नेपाल टेलिभिजनबाट ‘भ्वाइस अफ टिन’ नामक सांगीतिक रियालिटी शो प्रसारण हुँदैथियो । त्यो शोमा भाग लिन निशान १३ वर्षको उमेरमा काठमाडौं आएको सुनाउँछन् ।

त्यसबेला उमेरका कारण निशानको स्वरमा परिवर्तन आएको थियो । त्यही कारण आफू ‘भ्वाइस अफ टिन’ मा धेरै अगाडि आउन नसकेको निशानले बताए । निणर्ायक रहेका गायक रामकृष्ण ढकालले सो उमेरमा सबै त्यस्तै समस्याबाट गुजि्रने बताएका थिए ।

१७ वर्षको उमेरमा निशान नेपाल टेलिभिजनबाट प्रसारण शुरु भएको ‘सिंगिङ आइकन नेपाल’मा सहभागी हुन काठमाडौं आए । यद्यपि, आयोजक सम्पर्कविहीन भएपछि कार्यक्रम भएन ।

कला केन्द्रमा उनले संगीत सिकाइलाई निरन्तरता दिएका थिए । संगीततिर ध्यान दिंदा पढाइलाई पनि उत्तिकै महत्व दिएको उनले बताए । त्यसैले त एसएलसी उनले ८१ प्रतिशत ल्याएर उत्तीर्ण गरे ।

गीत-संगीततिर मन भएका कारण एसएलसीपछि निशानको काठमाडौं आउने सोच थियो । तर, एलएलसीपछि काठमाडौं आउने बन्दोबस्त मिलेन । निशानलाई विद्यालयले एसएलसीसम्मको शुल्क निःशुल्क गरिदिएको थियो । शिक्षकले ‘प्लस टु’ त्यहीं सकेर काठमाडौं आउन सुझाएका थिए । सोही कारण निशानले ‘प्लस टु’ मोरङमै पढे ।

‘प्लस टु’मा फस्र्ट डिभिजनमा उत्तीर्ण भएपछि ‘ब्याचलर’ सँगसँगै गायनलाई अगाडि बढाउने सपना बुनेर निशान काठमाडौं आए । सानिमाकोमा बस्न थाले । बीबीएस भर्ना भए । सँगै, लागे गायक तथा संगीतकार मनोजराजको संगीत पाठशालाको खोजीतिर ।

किनकि निशान मनोजराजसँगै संगीत सिक्न चाहन्थे । उनी मनोजराजका फ्यान थिए । नम्बर पत्ता लगाए, फोन गरे । संयोग कस्तो भने, निशानको बसाइ र मनोजराजको संगीत पाठशाला नजिकै रहेछ । निशान मनोजराजको सान्निध्यतामा संगीत सिक्न थाले ।

000

संगीत सिक्दासिक्दै उनलाई गीत रेकर्डिङ गर्ने चाहना बढेर आयो । एक चलचित्रमा गीत गाउने अवसर पनि पाए । गीत रेकर्डिङ भयो । तर, चलचित्रमा राखिएन ।

‘म नयाँ थिएँ । त्यसैले मेरो स्वरमा रेकर्ड भएको गीत राखिएन । अर्को व्यक्तिलाई लिएर रेकर्ड गराइयो’ उनी भन्छन्, ‘म नयाँ भएकाले मेरो गीत नचल्न सक्थ्यो । यसलाई म नराम्रो पनि मान्दिनँ ।’

सांगीतिक क्षेत्रमा चिनेजानेको कोही थिएनन् । लगानी गरेर गीत रेकर्ड गर्न पनि गाह्रो थियो । निकै दुःखले फाट्टफुट्ट गीत रेकर्डिङ गरे । तर, ती गीत चलेनन् । निशानको दुई वर्ष यसैगरी बित्यो । बीबीएस तेस्रो वर्षमा अध्ययन गरिरहेका थिए । सोही समय आएको हो- ‘नेपाल आइडल सिजन वान’ ।

000

निशान अहिले सम्झिँदा आश्चर्य मान्छन्, शुरूमा उनलाई विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज ‘आइडल’को नेपाली संस्करण ‘नेपाल आइडल’ हुन्छ भन्ने विश्वास नै लागेको थिएन् रे ! बजारमा गाइँगुईं हल्ला शुरु भयो, ‘नेपाल आइडल’ शुरु हुँदैछ रे ! यताउति बुझे, स्पष्ट हुन सकेनन् । थप बुझ्न रियालिटी शो प्रसारण गर्न थालेको एपी वान टेलिभिजनको कार्यालयमै पुगे ।

निशानले सुनाए, ‘यो फेक हो कि भन्ने थियो । विश्वास नै थिएन । फेरि साँच्चिकै हुँदैरहेछ भने सहभागी हुनुपर्‍यो भन्ने थियो ।’ अब, भने उनी ढुक्क भए । उनलाई हतार भयो, फर्म भर्न ।

‘नेपाल आइडल’ जाँदाको अनुभव सुनाउँछन्, ‘विजेता हुन्छु वा हुन्न केही सोचिनँ । कसैलाई जित्नुछ, पछार्नु छ भन्ने भावना पनि राखिनँ । त्यहाँ जाने र नहडबडाइ, नडगमगाई कला पस्किने मात्र सोच आयो । कला पस्किने एउटा राम्रो स्थानका रूपमा लिएँ । त्यसरी नै तयारी गरें ।’

निशानले नेपाल आइडलमा आफ्ना संगीत गुरु मनोजराजले सुझाएको गीत गाउने तयारी गरे । उनी एकपछि अर्को खुट्किलो पार गर्दै अगाडि बढे । र, फष्ट रनरअप घोषित भए ।

नेपाल आइडलमा गएपछि निशानले नसोचेको प्रतिक्रिया पाए । नेपाल आइडलले दिलाएको सफलता सुनाउँछन्, ‘जुन हिसाबले प्रस्तुत हुन्छु भन्ने सोचेको थिएँ, सोहीअनुसार प्रस्तुत गर्ने माहोल मिल्यो । मैले सोच्दै नसोचेको प्रतिक्रिया पाएँ । जीवनमा टर्निङ प्वाइन्ट आउँछ भन्ने आफूले नभोग्दासम्म बुझिंदैन । मेरो सांगीतिक यात्रामा ‘नेपाल आइडल’ टर्निङ प्वाइन्ट बनिदियो ।’

०००

 

‘नेपाल आइडल’ सकिएपछि निशानले ‘वर्ल्ड टुर’ गरे । सो समयमा उनलाई थुप्रै गीत गाउने प्रस्ताव आए । तर, ‘कन्ट्रयाक’ का कारण एक वर्षसम्म ती प्रस्ताव स्वीकार्न सकेनन्

‘नेपाल आइडल’ सकिएपछि निशानले ‘वल्र्ड टुर’ गरे । सो समयमा उनलाई थुप्रै गीत गाउने प्रस्ताव आए । तर, ‘कन्ट्रयाक’का कारण एक वर्षसम्म ती प्रस्ताव स्वीकार्न सकेनन् ।

त्यसपछि निशानले एकल स्वरमा सार्वजनिक गरे, ‘भुन्टी…’ । यो गीतलाई श्रोता तथा दर्शकले रुचाए । हालसम्म यस गीतले एक करोड ५२ लाख भ्यूज पाएको छ ।

क्रमशः पाश्र्व गायनमा पनि निशान खोजिए । पाश्र्व गायनमा निशानलाई चिनाउने गीत हो- ‘छक्का-पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ…’ । यो गीतपछि पाश्र्व गायनमा निशानको माग ‘हृवात्तै’ बढ्यो ।

चलचित्र ‘शुभ लभ’ को शीर्ष गीत, चलचित्र ‘दात भात तरकारी’को ‘भिजिट भिसामा’, ‘जात्रै जात्रा’ को ‘लाइदेउ माया पिरिम’ जस्ता दर्जनौं गीतले निशानलाई गतिशील बनाइदियो । उनी रेकर्डिङ स्टुडियो, मेला-महोत्सवमा छाइरहे । गुञ्जिइरहे ।

डेढ महिना अगाडि निशानको स्वरमा ‘कृष्णलीला’ चलचित्रको गीत ‘डियर बन्न मन छ’ सार्वजनिक भयो । निशानले चलचित्र ‘ए मेरो हजुर ४’ का लागि गीत रेकर्डिङ गराइसकेका छन् । अन्य थुप्रै गीत रेकर्डिङको क्रममा छन् । हालसम्म आउँदा १०० भन्दा बढी गीतमा स्वर दिएको निशानले बताए ।

उनले अर्जुन पोखरेलदेखि शम्भुजित बास्कोटासम्मको संगीतमा काम गरिसकेका छन् । अभिनेता हरिहर अधिकारी, निश्चल बस्नेतदेखि हरिवंश आचार्यसम्मका लागि स्वर दिइसकेका छन् । स्टेज कार्यक्रमकै सिलसिलामा डेढ दर्जन मुलुकमा पुगिसकेका छन् । देशका ४० भन्दा बढी जिल्लामा गायन पस्किसकेका छन् ।

‘सोचेकै थिएन यो सफलता मिल्छ भन्ने, एकदमै धेरै खुशी लाग्छ’, निशान भन्छन् । अहिलेको सांगीतिक यात्रा आफ्नो लागि ठूलो अवसर सँगै नयाँ अनुभव भइरहेको उनले बताए ।

उनी गायनका कारण मात्र गीत राम्रो हुन्छ भन्ने कुरामा विश्वास गर्दैनन् । टीमवर्क महत्वपूर्ण रहेको निशान बताउँछन् । ‘गीतकार, संगीतकार, एरेञ्जर, गायक-गायिका सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ’, उनी भन्छन् । आफूले गाउँदा पनि समय लिएर अभ्यास गरेपछि गाउने गरेको सुनाउँछन् ।

उनी सफलतामा घमण्ड गर्दैनन् । यसले त जिम्मेवारीबोध गराउने उनी बताउँछन् । ‘मान्छेले आफ्नो धरातल बिर्सनुहुँदैन । मैले आफ्नो धरातल कहिल्यै बिर्सिएको छैन’, उनले भने, ‘मसँग धेरै ठूलो सपना पनि छैन । मिहिनेत गर्न र गायनप्रतिको इमानदार भएर रहन पाऊँ ।’

फेसबुकबाट चिनजानपछि विवाह

नेपाल आइडलको ‘वल्र्ड टुर’ चलिरहेको थियो । निशानको बोलचाल काभ्रेकी ऋचा न्यौपानेसँग शुरु भयो- सामाजिक सञ्जाल फेसबुकमा । ‘ऋचाले म्यासेज गरेकी थिइन् । क्रमशः बोलचाल बढ्दै गयो’ उनले भने, ‘कुरा बढ्दै गएपछि भेट्ने कुरा भयो । ८ महिनापछि पहिलोपटक भेट गरें ।’

यतिञ्जेलसम्म एकअर्काको प्रेममा परिसकेका थिए उनीहरू । त्यो प्रेम झाँगिंदै गयो । तीन वर्षको प्रेमपछि गत वर्ष साउनमा उनीहरूले कानूनी विवाह गरे । एकअर्कालाई पाउँदा आफूहरू एकदमै खुशी रहेको निशानले बताए ।

प्रेममा रहँदा निशानकै आग्रहमा ऋचाले ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरेकी थिइन् । अहिले बीबीए तेस्रो वर्षमा अध्ययनरत श्रीमती ऋचाको अभिनयमा उतिसाह्रो रुचि नभएको निशानले बताए । ‘उनी पढाइमा बढी ‘फोकस्ड’ छिन्’ निशान भन्छन्, ‘अभिनय गर्दै नगर्ने भनेको होइन तर उनको सपना अन्य क्षेत्रमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment