
५ वैशाख, काठमाडौं । चेक गणतन्त्रले १८ रुसी कूटनीतिक अधिकारीलाई देशनिकाला गर्ने निर्णय गरेको छ । सन् २०१४ मा भएको गोलाबारुद भण्डारण गरेर राखिएको डिपोमा भएको विष्फोटमा संलग्न भएको आशंकामा उनीहरुलाई देशनिकाला गर्ने निर्णय गरिएको चेक गणतन्त्रको सरकारले बताएको छ । उनीहरुले रुसी गुप्तचर एजेन्टको रुपमा काम गरेको चेक गणतन्त्रको आरोप छ ।
चेक गणतन्त्रको यो कदमसँगै रुसले मस्कोमा रहेको चेक गणतन्त्रको दूतावास बन्द गराउन सक्ने अनुमान छ ।
सन् २०१४ को अक्टोबरमा चेक गणतन्त्रको प्रागभन्दा ३३० किलोमिटर दक्षिणपूर्वमा रहेको गोलाबारुद राखिएको डिपोमा भएको विष्फोटमा परी निजी कम्पनीका दुई जनाको मृत्यु भएको थियो । चेक गणतन्त्रका कार्यवाहक विदेशमन्त्री जान हकासेकले रुसी दूतावासका १८ कर्मचारीहरु रुसको गुप्तचर संस्थाको एजेन्ट रहेको पाइएको बताएका छन् । उनीहरुलाई ४८ घण्टाभित्र मुलुक छाड्ने निर्देशन दिन सकिने हकासेकले बताए । उनका अनुसार अहिले उक्त विष्फोटमा स्पष्ट रुपमा संलग्नता देखिएका मानिसहरुलाई मात्र देशनिकालाको निर्णय गरिएको हो ।
रुस र उसको गुप्तचर संस्थाले भने सन् २०१४ मा भएको उक्त विष्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4