Comments Add Comment

आन्तरिक उडानमा यात्रुले भर्नुपर्ने स्वःघोषणा फारम पुनः अनिवार्य 

५ वैशाख, काठमाडौं । आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले बोर्डिङ पास लिने क्रममा भर्नुपर्ने स्वःघोषणा फारम अनिवार्य भर्नुपर्ने भएको छ । महामारी कम हुँदै गएपछि एयरलाइन्सले फारम नभरी बोर्डिङ पास दिइरहेका थिए । तर, कोरोना महामारी पुनः बढ्न थालेपछि यो फारम अनिवार्य भर्नुपर्ने नियम कडाइका साथ कार्यान्वयनमा आएको यती एयरलाइन्सले जानकारी गराएको छ ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिले सबै एयरलाइन्सका यात्रुले अनिवार्य फारम भर्नुपर्ने नियम कडाइका साथ पालना गरिएको छ । यही फारमका आधारमा कोरोना संक्रमित व्यक्तिले यात्रा गरे नगरेको र गरेको भए उसको यात्रा विवरण खुल्न सहयोग पुग्छ ।

फारम विमानस्थल जानु अगाडि ‘सीसीएमसीडटजीओभीडटएनपी’को वेबसाइटमा रहेको ‘नेपालमा आन्तरिक उडान गर्ने व्यक्तिले भर्नुपर्ने फारम’ भरेर त्यहाँबाट प्राप्त हुने कोड नम्बर लिएर जान सकिने छ । यो सम्भव नभए विमानस्थलमै पुगेर फारम भर्नुपर्नेछ ।

मापदण्डमा कडाइ

यति एयरलाइन्सले एयरलाइन्समा यात्रु र कर्मचारी दुवैले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डमा समेत कडाइ गरेको जनाएको छ ।

यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उदेश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाइएको भन्दै कम्पनीले स्वास्थ्य निर्देशिकालाई कडाईका साथ पालना गराउन थालेको जानकारी गराएको छ । उडान पहिले वायुयानको क्याविन, र्या‍म्प बस, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको छ ।

यती एयरलाइन्सले कोभिड–१९ शंकास्पद र सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाएको छ । वृद्ध, दीर्घरोगी र गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न समेत अनुरोध गरेको छ । उडानभन्दा डेढ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, उडान अगाडि शरीरको तापक्रम चेकजाँच गर्नुपर्ने, सेनिटाइजर तथा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने समेत कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment