+
+

वीरगञ्जमा कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १९:०३
फाइल तस्वीर

५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा वैशाख ६ गतेदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द हुने भएको छ । शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।

वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण व्यापक रुपमा फैलिएको छ । त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरु पनि छन् । जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै वैशाख ६ गते सोमबारदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गर्ने निर्णय गरेको शैक्षिक महाशाखाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिए ।

शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षावृद्धि गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

कक्षा ६ देखि ९ को अन्तिम परीक्षा सञ्चालन हुने

वीरगञ्जमा कक्षा ८ को नगर स्तरीय परीक्षाको तालिका नै सार्वजनिक भइसकेको छ । जेठ ४ गतेबाट गर्ने भनिएको परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको छ ।

परीक्षा सञ्चालक समितिका सदस्य सचिवसमेत रहेका राउतले कक्षा ८ को नगर स्तरीय परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गरेर २० गतेभित्र सम्पन्न हुने बताए ।

कक्षा ६, ७ र ९ को अन्तिम परीक्षाको सन्दर्भमा पनि शैक्षिक महाशाखाले आइतबार सूचना निकालेको छ । सामाजिक दूरी कायम गर्दै, साबुन–पानीले हात धुने व्यवस्था, सेनिटाइजर मास्कको सुनिश्चितता गरेर परीक्षा दिन लगाउन भनिएको छ ।

भिडभाड कम गर्न दुई सिफ्टमा परीक्षा लिन महानगरपालिकाले विद्यायहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?