Comments Add Comment

जुत्ता खोलेर सोमपालको सेलिब्रेशन, कारण यस्तो

६ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा नेपालले सोमबार मलेसियालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

खेलमा कुशल भुर्तेलले अविजित ६१ रन बनाए । आसिफ शेखले ४२ रन योगदान गरे । यस्तै म्यान अफ दी म्याच करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले टी२० अन्तर्राष्ट्रिय मा पहिलो विकेट पनि लिए । यी बाहेक अन्य क्षण पनि थियो जसले दर्शकको ध्यान तान्यो ।

खेलमा सोमपाल कामीले १ विकेट लिए । तर उनले विकेट लिएपछिको सेलेब्रेसन अनौठो थियो । उनले मलेसियाका विरनदिप सिंहलाई बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता विकेट दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा सोमपालले विरन दिपलाई आउट गरे ।

अघिल्लो खेलमा नेदरल्याण्ड्स विरुद्ध ८७ रन बनाएका विरनदिप नेपाल विरुद्ध भने ६ रनमै आउट भए । सोमपालले विकेट लिएपछि आफ्नो जुत्ता खोलेर कानमा राख्दै सेलेब्रेसन गरे । उनले कसैलाई फोन गरेको शैलीमा राखे ।

किन गरे यस्तो सेलिब्रेशन ?

सुरुमा सोमपालले केही होइन भनेपनि पछि उनले रहस्‍य खोले । उनले पारस खड्का र फुटबलर राजेश परियारको लागि सेलिब्रेसन गरेको बताए ।

‘पहिलो पारस दाईको लागि थियो । उहाँ टिमबाट आउट हुनु भएपछि फिल्डमा केही मिसिङ छ जस्तो लाग्यो । सो कल गरेर पारस दाईलाई मैले विकेट लिएँ भनेको हो ।’ सोमपालले फोन कुराकानीमा भने, ‘अर्को मेरो फुटबल साथी राजेश परियारको लागि हो । उसले एउटा विकेट मेरो लागि भनेको थियो ।’

सोमपालले खेलमा ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर १ विकेट लिएका थिए । सिरिज अघि चोटका कारण पारस अहिले त्रिकोणात्मक सिरिजमा टिममा छैनन् । फुटबलर राजेश नेपाल सुपर लिगमा पोखरा थण्डर्सबाट खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment