Comments Add Comment

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, राष्ट्रपतिले दर्शन गर्ने

फाइल तस्वीर

७ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमको बाबजुद वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदै छ ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।

रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । ३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

मास्क अनिवार्य

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको छ । एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ ।

समितिका सचिव सुजीव बज्राचार्यले सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन कोरोना महामारीबाट बच्ने प्रयाप्त व्यवस्था गरिएको बताए ।

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment