+
+

लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई जसपाले सोध्यो स्पष्टीकरण

कार्यक्रम बहिस्कार गर्न कार्यकर्तालाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १८:३२

७ वैशाख, बुटवल । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए ।

‘पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’–पत्रमा सोधिएको छ–‘दल र दलका नेताको निर्देशन (ह्वीप) किन उल्लंघन गरेको हो ? प्रचलित कानून र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन केका आधारमा गरेको हो ?’

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रकृया अघि बढाउने दलका नेता यादवले बताए ।

मन्त्रीहरुले फ्याँकिदिए स्पष्टीकरण पत्र
संसदीय दलले पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले अस्वीकार गरेका छन् । पत्र लिएर गएका कर्मचारीसँग झगडा गर्दै उनीहरुले पत्र फ्याँकिदिएको जसपाका प्रदेश समिति पदाधिकारीले बताए । ‘उहाँहरुमा सामान्य राजनीतिक संस्कार समेत देखिएन,पत्रलाई फ्याँकेर उल्टै पत्र लिएर गएकासँग झगडा गर्नुभएछ’– एक नेताले भने ।

स्पष्टीकरण सोधिएका मन्त्री सन्तोष पाण्डेयले भने संसदीय दलको बहुमतले निर्णय गरेर आफूलाई दलको नेता चयन गरेर आफूहरु सरकारमा सहभागी भएकाले अल्पमतले स्पष्टीकरण सोध्न नमिल्ने प्रतिक्रिया दिए । तर दलका नेता यादवले भने पार्टी संसदीय दलको विधानमा दुई वर्षसम्म दलका नेतामाथि अविश्वास प्रस्ताव ल्याउन नपाइने स्पष्ट उल्लेख भएकाले सरकारमा सहभागीता पूर्णतः अनैतिक र अराजनीतिक भएको टिप्पणी गरे ।

समाजवादी पार्टी र राजपा एकीकरणपछि बनेको जसपाको संसदीय दलको विधान गत पुसमा मात्र बनेकाले दुई वर्ष नपुगेकाले दलका नेता यादवमाथिको अविश्वास प्रस्ताव अवैधानिक भएको उनले बताए ।

यसअघि पार्टी प्रदेश समितिका अध्यक्ष अशोक यादवले सोमबार नै चारै जनालाई स्पष्टीकरण नआउँदासम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमार्फत जनाएका थिए ।

कार्यक्रम बहिष्कार गर्ने निर्णय
यसैबीच जसपा रुपन्देहीले पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी चारैजना मन्त्रीको कार्यक्रम बहिष्कार गर्न कार्यकर्तालाई अपील गरेको छ ।

पार्टी अध्यक्ष रामअवतार यादवले विज्ञप्ति जारी गर्दै मन्त्रीहरु सहभागी सामाजिक र राजनीतिक कार्यक्रमहरुमा पार्टीका नेता कार्यकर्तालाई उपस्थित नहुन अपील गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?