Comments Add Comment
सूरिया हेल्थ केयरमा प्रहरी छापा :

९ हजार बुझाए स्वाब नै नदिई पीसीआर नेगेटिभको रिपोर्ट

७ वैशाख, काठमाडौं । एउटा निजी ल्याबले ९ हजार रुपैयाँसम्म लिएर कोरोना भाइरस (कोभिड–१९) को पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चलाएको ‘कोभर्ट अपरेशन’का क्रममा सूरिया हेल्थकेयरले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएको हो ।

यसअघि नेपालमा पीसीआर नेगेटिभको रिपोर्ट देखाएर हङकङ पुगेकाहरुको पीसीआर पोजेटिभ आएपछि नेपाल एयरलाइन्स थुप्रै पटक निलम्बनमा परेको थियो । तर प्रहरी अनुसन्धानका क्रममा प्रयोगशालाको त्रुटि नभएको पाइएको थियो ।

नेपालमा कोरोना संक्रमण घटेसँगै परीक्षण पनि घट्यो । नक्कली रिपोर्टको केस पनि आएको थिएन । तर केही दिनअघि अपराध महाशाखा, बानेश्वरका एक अधिकृतलाई खबर आयो, स्वाब नै नदिई पीसीआर नेगेटिभ भएको रिपोर्ट घरघरमा पुग्ने गरेको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले ‘कोभर्ट अपरेशन’ चलाउन अनुमति दिए ।

अपरेसनमा खटिएका अधिकृतहरुले विदेश जाने चारजना व्यक्ति खडा गरेर पीसीआर नेगेटिभ रिपोर्ट चाहिएको खबर प्रयोगशालासँग जोडिएका व्यक्तिसम्म पुर्‍याए । विदेश जानुपर्ने चारजना उपत्यकाबाहिर भएकाले रिपोर्ट दिन आग्रह गरे ।

प्रतिव्यक्ति ९ हजार रुपैयाँमा सहमति भयो र सिनामंगलस्थित सूरिया हेल्थ केयरमा आउन आग्रह गरे । त्यसअनुसार ‘कोभर्ट अपरेशन’मा खटिएका अधिकृतहरुले तयार गरेका एक युवक मंगलबार १२ः३५ मा पीसीआर रिपोर्ट लिन प्रयोगशाला पुगे ।

त्यहाँ उनलाई ‘तपाईले चाहिँ स्वाब दिनुपर्छ । चारै जनाको रिपोर्ट आउँछ’ भनियो । उनले स्वाब दिए । २ः२५ बजे चारै जनाको पीसीआर नेगेटिभ रहेको रिपोर्ट हात लाग्यो ।

त्यो सूचना पाउनासाथ नजिकै रहेका प्रहरी अधिकृतहरुले ल्याबमा छापा मारेको छन् । महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनी, प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी, कुलदिप चन्दसहित सादा पोशाकको टोलीले ल्याबमा छापा मारेको हो । यसरी छापा मार्दा थुप्रै नक्कली पीसीआर रिपोर्ट फेला पारिएको महाशाखाका प्रमुख एसएसपी खापुङ बताउँछन् ।

हाल प्रहरी हिरासतमा रहेका प्रयोगशालाका प्राविधिक सल्लाहकार केपी सिंहले भने संकलन गरिएका स्वाबहरुकै आधारमा रिपोर्ट दिने गरेको दाबी गरेका छन् ।

मुख्य सञ्चालक फरार

महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार प्रयोगशालाका मुख्य सञ्चालक सीपी श्री कुमार हुन् । कम्पनी दर्ताको प्रमाण पत्रमा उनले आफ्नो ठेगाना काठमाडौं महानगरपालिका–२, लाजिम्पाट लेखाएका छन् । अहिले उनी फरार छन् ।

छापा मार्ने क्रममा प्रयोगशालामै रहेका प्राविधिक सल्लाहकार खडानन्दप्रसाद (केपी) सिंह, म्यानेजर प्रमोद यादव, कर्मचारी बादल मिरिङ छिङ, अमनकुमार यादव, ओजेश पोख्रेल र मेरिट मल्टिकेयर मेडिकलका सरोज क्षेत्री चाहिँ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये क्षेत्री विदेश जाने नागरिकका लागि मेडिकल जाँच गर्ने व्यक्ति हुन् । महाशाखाका एसपी पंगेनीका अनुसार प्रयोगशालाको स्वाब संकलन बुथ उपत्यकाको विभिन्न ठाउँमा राखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएर सञ्चालन गरिएको यो ल्याबले पीसीआर नेगेटिभ भएका व्यक्तिको स्वाब लिएर अर्को व्यक्तिको नाममा रिपोर्ट बनाइदिने गरेको पाइएको छ । ‘विदेश जाने र चाँडै रिपोर्ट चाहिने व्यक्तिलाई नक्कली रिपोर्ट बनाइने गरिएको देखिन्छ’ एसपी पंगेनीले भने ।

महाशाखाका डीएसपी रेग्मीकाअनुसार कोरोना महामारीका अवधिमा फर्जी रिपोर्ट दिएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा अधिकृतहरुका अनुसार यो प्रयोगशालामा केही मेनपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने मानिसहरुलाई पीसीआर जाँचका लागि यहाँ पठाउने गरेका थिए ।

तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट पनि कोरोना परीक्षण यही गराउने गरेको पाइएको छ । स्वाब संकलनका लागि अस्पतालमा सूरिया हेल्थ केयरको बुथ नै छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘पक्राउ परेका प्राविधिक सल्लाहकार केपी सिंह कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक रहेछन्, त्यही भएर सूरियामा पठाउने गरिँदोरहेछ ।’

प्रयोगशालाको अनुमति निलम्बन

पीसीआर नेगेटिभ भएको नक्कली रिपोर्ट बनाएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै अपराध महाशाखाले सूरिया हेल्थकेयरलाई दिएको अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुलाई आग्रह गरेको छ ।

त्यसअनुसार तत्काललाई प्रयोगशालाको लाइसेन्स निलम्बन गरिसकिएको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुणा झाले बताइन् । उनकाअनुसार अनुसन्धानबाट कसूर प्रमाणित भए लाइसेन्स खारेज हुनसक्छ । ‘हामीले गर्न सक्ने कारबाही यति नै हो, कसूर प्रमाणित भए प्रहरीले पनि कडा कारबाही गरोस्’, झा भन्छिन् ।

महाशाखा प्रमुख खापुङ मुलुकी फौजदारी संहितामा रहेको कीर्तेसम्बन्धी कसूर, संक्रामक रोग नियन्त्रण ऐन र संहितामै रहेको जनस्वास्थ्य सम्बन्धी प्रावधानमा टेकेर पक्राउ परेका व्यक्तिमाथि म्याद थप गरी अनुसन्धान हुने बताउँछन् ।

तस्वीरहरुः शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment