Comments Add Comment

महामारीलाई गिज्याउने भीडमा मन्त्री नै अतिथि !

८ वैशाख, चितवन । कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रालगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ ।

मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ ।

तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा माडी अयोध्याधाम, चितवनमा स्थापना गर्न राम–सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान गरे ।

राम, सीता, लक्ष्मण र हनुमानसहितका मूर्तिहरु रथमा राखेर लावालस्करसहित मंगलबार राति देवघाट ल्याइएको थियो । बुधबार चैते दशैंको अवसर पारेर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना कार्यक्रममा हजारौं मानिस सहभागी थिए । माडीको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, वागमती प्रदेशका मुख्यमन्त्री, वागमती प्रदेशका प्रमुख, प्रदेश नंं. २ का प्रमुख, सांसद, नगर प्रमुखहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा सहभागी हुन आसपासका जिल्लाहरुबाट समेत मानिसहरु माडी आएका थिए । बाजागाजा, नाचगानसहित भएको कार्यक्रममा हजारौं सहभागी भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सम्भव थिएन ।

अझै अनौठो त के भने मूर्ति स्थापना कार्यक्रमको अतिथि थिए, जो कोरोना महामारीको पहिलो लहर रहँदा स्वास्थ्यमन्त्री रहेका संस्कृतिमन्त्री ढकाल । कार्यक्रमलाई सम्बोधन गरेका ढकालले धार्मिक कुरा मात्रै गरे । कोरोना महामारीलाई गिज्याउने हजारौंको भीड अगाडि उभिएर भाषण गरेका मन्त्री ढकालले जनस्वास्थ्यसम्बन्धी चेतना बाँड्ने जाँगर भने चलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment