Comments Add Comment

स्वर्गद्वारी नगरपालिकामा अनिश्चितकालीन विद्यालय बन्द

स्वास्थ्य संस्थामा दुई दिन अत्यावश्यक सेवा मात्रै

९ वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

व्यापारिक क्षेत्र र वित्तीय संस्थाहरु एक साता तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा विहीबार र शुक्रबार (वैशाख ९ र १० गते) दुई दिन बन्द गरिएको छ ।

बुधवार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विषयगत क्षेत्रहरु छुट्याई सन्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर के.सी.ले जानकारी दिए ।

केसीका अनुसार अर्काे सूचना नभएसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय भएको छ । पालिका भित्रका बैंक तथा वित्तीय संस्था, व्यापारिक पसलहरु, होटल लगायत सर्वसाधारण जमघट हुने स्थानहरु भने एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य संस्थाहरुबाट एन्टीजिन परीक्षण गर्दा अत्याधिक पोजेटिभ देखिएकाले स्वास्थ्य संस्था निःसंक्रमण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु वैशाख ९ र १० गते दुई दिन बन्द गर्ने निर्णय पनि भएको केसीले जानकारी दिए ।

तरकारी, फलपूmल, दूधजन्य पसल तथा अत्यावश्यक सेवा प्रवाहका क्षेत्रहरु तोकिएको मापदण्ड पूरा गरी सन्चालन हुने छन् ।

प्राथमिक स्वास्थ केन्द्र भिंग्रीमा शंकास्पद १३ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले नगरपालिका भित्र ३६ जना सक्रिय कोरोना संक्रमित छन् । स्वर्गद्वारीमा पछिल्लो समय कोरोना संक्रमित २ जनाको व्यक्तिको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं. ४ जिमुरपाटामा स्थापना भएको कोभिड अस्थायी अस्पताललाई पूर्वाधार तयार गरी सन्चालनका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका मेडिकल अधिकृत डाक्टर शैलेश पौडेलेको नेतृत्वमा ५ सदस्यीय समिति समेत गठन भएको छ ।

वडा सिएमसी, नागरिक समाजहरु, लगायत जिम्मेवार निकायहरुलाई सचेतनामुलक अभियानमा सहयोग गर्न नगरपालिकाले सूचना जारी गरी अनुरोध समेत गरेको छ ।

नगरपालिकाले अत्यन्त जरुरी कामबाहेक घर बाहिर ननिस्कन, अन्य व्यक्तिको सम्पर्कमा जाँदा मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुनपानीले नियमित हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र संक्रमणको शंका लागेमा अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारद्वारा निर्देशित विधिहरुको अनिवार्य पालना गर्न, संयमित र धैर्यताका साथ मनोबल उच्च राख्न, जिम्मेवार बनी बच्न र बचाउन, नियन्त्रण, रोकथाम तथा उपचारमा सक्रिय रहन स्वगद्वारी नगरपालिकाले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment