+
+
Shares

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १९:४९

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेका छन् ।

अध्यक्ष एवं संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारबाही नगर्ने भनी सोधेको स्पष्टीकरणको लिखित जवाफ दिँदै भुसालले २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला अनुसार २ जेठ २०७५ बाट एमाले पार्टी जीवन पुनः आरम्भ गर्नुपर्ने वैधानिक, कानूनी, राजनीतिक र व्यवहारिक तथ्यलाई इन्कार गर्दै पार्टीलाई विभाजित गर्न सङ्ठित प्रयास भएपछि राष्ट्रिय भेला गर्न आफूले पनि भूमिका खेलेको बताएका छन् ।

उक्त भेला पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरुको रक्षाका लागि भएको भन्दै उनले भनेका छन्, ‘यस वापत ब्यहोर्नुपर्ने कुनै पनि परिणाम ब्यहोर्न आफू तयार नै रहेको कुरा अनुरोध गर्छु ।’

पार्टीमा बदलिँदो नेपाली समाजको चरित्रलाई ठम्याउने र त्यसअनुसार पार्टीको कार्यदिशा र सिद्धान्तहरु निर्माणमा बहस तथा विवाद भएको र नवौँ महाधिवेशनले आफूसहितका पक्षको विचार पारित गरेको भुसालले स्मरण गरेका छन् । तर पार्टीले उक्त कार्यदिशा र सिद्धान्तको कार्यान्वयन नगरेको विषयमा आफूले आवाज उठाउँदै आएको भन्दै उनले लेखेका छन्, ‘त्यसक्रममा मेरो आलोचना र विरोध हुँदै आएको कुरामा म स्पष्ट छु । आफ्नो त्यस क्रियाकलाप वापत हुन जाने परिणामलाई ब्यहोर्न तयार छु ।’

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपमहासचिव एवं सांसद भुसालले स्पष्टीकरणमा पार्टीमा देखिएको समस्या र त्यसले उत्पन्न गराएको विभाजनको खतरा टार्न पार्टी अध्यक्ष र संसदीय दलको नेताका रुपमा केपी शर्मा ओलीकै भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

पार्टीलाई जोगाउन व्यक्तिगत रुपमा आफूले गर्नुपर्ने त्यागका लागि आफू तयार रहेको भन्दै उनले भनेका छन्, ‘तपाईंको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?