Comments Add Comment

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

९ वैशाख, काठमाडौं । गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको ।

‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० युवाको नाम अपडेट भइसकेको रहेछ ।’

विश्व प्रसिद्ध फोर्ब्सको यो वर्षको प्रभावशाली युवाको सूचीमा एसियाको नेपालबाट दुईजना परेका छन्-पौडी खेलाडी गौरिका सिंह र प्रकाश कोइराला ।

‘नोमिनेशनमा परेका १० हजार नामबाट छनोट गरेर २५०० मा झारिएको थाहा थियो, टप–३० मा पर्छु भन्ने लागेको थिएन’ कोइराला भन्छन्, ‘आफूले गर्दै आएको कामले विश्वको ध्यानाकर्षण गरेको हुँदा निकै खुशी लागेको छ ।’

‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका र ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ बाट प्रकाश फोर्ब्सको छनोटमा परेका हुन् । फोर्ब्सले विभिन्न १० विधामा विश्वका ३०–३० प्रभावशाली युवा छान्ने गरेको छ । यी सबै ३० वर्षमुनिका छन् ।

प्रकाशले नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा ग्रामीण भेगमा पैसाको महत्व बुझाउने अभियान चलाएका थिए । उच्च शिक्षा अध्ययन गर्दै गर्दा उनले वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम गरेका थिए ।

यसअघि उनले स्वदेशमै राष्ट्रिय प्रतिभा पुरस्कार र बेलायतको संसदीय पुरस्कार पाएका थिए ।

दोलखा स्थायी घर भएका प्रकाश शिक्षाका लागि धेरैजसो काठमाडौं बसे । गाउँमा बाबुबाजे पण्डित्याइँ गर्थे । हजुरबा र बुवाले यजमानहरूलाई शास्त्रका कुरा सुनाएको देखेका उनलाई पनि सानैदेखि मानिसहरूलाई असल कुरा बताउने रहर लाग्थ्यो ।

सन् २००९ को दशैं मनाउन घर गएको बेला प्रकाशले गाउँको एक घरमा श्रीमान्–श्रीमती झगडा गरेको सुने । भोलिपल्ट त्यही दम्पतीका छोरासँग धारामा भेट भयो । कुराकानीको क्रममा झगडाको विषय सोध्दा तरकारीको निहुँमा श्रीमान्ले श्रीमतीलाई बेस्सरी गाली गरेको थाहा भयो । पैसा नभएर श्रीमतीले तरकारी पकाउन नसक्दा त्यो घरमा झगडा भएको रहेछ ।

‘त्यो घटनाले मेरो मानसपटलमा पैसा व्यवस्थापनको कुरा हालिदियो’ उनी सम्झन्छन्, ‘पैसा नभएर होइन, पैसाको व्यवस्थापन गर्न नजान्दा त्यो घरमा झगडा भएको मैले बुझें ।’

त्यो बेला प्रकाशको ध्यान बालबालिकालाई नै वित्तीय रूपमा साक्षरता बनाउनुपर्छ भन्नेमा थियो । उनीसँग समय पनि भएकोले चैनपुरकै केही बालबालिका भेला पारेर एक महीना दैनिक एक घण्टा पैसाको महत्व बताए ।

किनभने, कुनै आम्दानी नै नहुने परिवार थिएन त्यो । आम्दानी उपयोग गर्न नसक्दा तरकारी किन्ने पैसा नपुगेको प्रकाशको बुझाइ भयो । उनी भन्छन्, ‘त्यसपछि मलाई पैसाको महत्व बुझाउने हुटहुटी हुन थाल्यो ।’

त्यहीबेला चिनजानका व्यक्तिहरूले चलाएको एउटा गैर-सरकारी संस्थाको काममा बझाङको चैनपुर जाने अवसर प्रकाशले पाए । त्यो संस्थाले गर्ने काम फरक भए पनि आफ्नो सोचमा पनि सहकार्य हुनसक्छ कि भन्ने आशा उनलाई थियो । उनी भन्छन्, ‘त्यो संस्थालाई पनि राम्रै हुने भएकोले मैले कुरा राख्दा सहकार्य हुने भयो ।’

त्यो बेला प्रकाशको ध्यान बालबालिकालाई नै वित्तीय रूपमा साक्षरता बनाउनुपर्छ भन्नेमा थियो । उनीसँग समय पनि भएकोले चैनपुरकै केही बालबालिका भेला पारेर एक महीना दैनिक एक घण्टा पैसाको महत्व बताए ।

पैसा खर्च गर्नैपर्छ, तर आवश्यक काममा मात्र भन्ने बुझेका बालबालिकाले खाजा खाने पैसा बचत गर्न थालेछन् । ‘तीमध्ये अधिकांशले मेरो यति जम्मा भन्न थालेपछि म उत्साहित भएँ’ प्रकाशले सम्झन्छन्, ‘त्यसपछि केही स्कूलमा ‘स्कूल बैंक’ कार्यक्रम चलाएँ ।’

बेलायती अवार्डपछि झनै सहज

उनले स्वयंसेवीको रूपमा चलाएको ‘स्कूल बैंक’ कार्यक्रम पनि प्रभावकारी देखियो । त्यही बेला २०१५ मा बेलायतको संसदको ‘ग्लोबल फाइनान्स अवार्ड’का लागि विश्वभरबाट आवेदन माग गरिएको उनले थाहा पाए ।

आफूले गरेका वित्तीय साक्षरता सम्बन्धी कामहरूको विवरण तयार पारेर ‘चाइल्ड एण्ड युथ फाइनान्स’ संस्थाबाट पठाउँदा त्यो अवार्ड प्रकाशले नै पाए । अवार्डपछि बैंकहरूले विश्वास गर्न थाले । उनी राष्ट्र बैंक र अरू बैंकहरूसँग मिलेर काम गर्न थाले । डा. युवराज खतिवडा गभर्नर हुँदा ‘ग्लोबल मनी वीक क्याम्पियन’ चलाए ।

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा.युवराज खतिवडासँग वित्तीय साक्षरता समबन्धी कार्यक्रममा प्रकाश कोइराला।

प्रकाशको वित्तीय साक्षरता कार्यक्रम बालबालिकादेखि वयस्कहरूमा पुग्यो । कार्यक्रम चलाउन संस्था आवश्यकता भएपछि प्रकाश ‘अर्थ फाउण्डेसन’मा आवद्ध भए ।

‘बेलायतको अवार्ड पाएपछि आफूले चलाएको ‘स्कूल बैंक’बारे विभिन्न देशमा कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएँ’ उनी भन्छन्, ‘त्यसबाट अझ धेरै कुरा सिकें, बैंकहरूसँग मिलेर काम गर्न सहज भयो ।’

केही अप्ठेरा…

काम गर्दै जाँदा प्रकाशले ‘फिनलिक, नेपाल’ भन्ने संस्था दर्ता गरे । अब काम गर्न अझ सहज हुन्छ भन्ने अपेक्षा थियो । तर, सोचेको भन्दा विपरीत नतिजा आयो ।

‘कार्यक्रम लिएर गाउँमा जाँदा आईएनजीओको पैसा खानका लागि गरेको भन्न थाले’ प्रकाश सम्झन्छन्, ‘भत्ता नपाए कार्यक्रममा नआउने, नपढ्ने भन्नेहरू निस्किए ।’

र पनि, प्रकाश डगमगाएनन् । निस्वार्थ भावले काम गरिरहेकोले पैसा दिएर पढाउन नसक्ने कुरा बुझाए । बैंकहरूसँगको साझेदारीमा कार्यक्रमहरू संचालन भए । बचेको पैसाले अर्को गाउँमा त्यस्तै कार्यक्रम चलाए ।

त्यसपछि लघुवित्त तथा सहकारीहरूसँग पैसा व्यवस्थापन सम्बन्धी काम गरेका उनको नजर अहिले डिजिटल कारोबारमा छ । बैंकहरूसँगको सहकार्य बढाउँदै डिजिटल क्षेत्रको कारोबार डिजाइनमा लागेको उनी बताउँछन् ।

उनको अनुभवमा, नेपालमा वित्तीय साक्षरता सम्बन्धी कामहरू भएका छन्, तर बाहिरी विश्वले त्यो महसूस गरेको छैन । ‘सम्पन्न देशहरूले वित्तीय साक्षरतालाई प्राथमिक तहकै पाठ्यक्रममा समावेश गरेका छन्’ उनी भन्छन्, ‘अब नेपालका विद्यालयमा त्यस्तो पाठ्यक्रम हुनुपर्छ ।’

प्रकाश कोइरालाले वित्तीय साक्षरता अभियानमा लाग्दा रोकिएको आफ्नो पढाइलाई अगाडि बढाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक उनले जेनेभा युनिभर्सिटी र हार्वर्ड युनिभर्सिटीमा वित्तीय साक्षरता सम्बन्धी कोर्ष पूरा गरे । अहिले क्यानडामा माइक्रोफाइनान्स तथा हाउजिङ विषयमा कोर्ष गरिरहेका छन् ।

अबको पाँच महीनामा नेपाल फर्केर वित्तीय साक्षरता र डिजिटल कारोबारको क्षेत्रमा सशक्त ढंगले काम गर्ने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment