Comments Add Comment
कोरोना कहर :

दोस्रो छाल, संक्रमण र नियन्त्रणका पाठ

चीनबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ कोरोनाभाइरस रोग ‘कोभिड–१९’ अथवा कोरोना संक्रमणका विभिन्न छालसहित हालसम्म विश्वमा करीब १४ करोड ५४ लाख संक्रमित गराएको छ भने ३० लाख व्यक्तिको ज्यान लिइसकेको छ । कोरोना कहरले विश्वकै आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा करीब ९ लाख कोरोना संक्रमित थपिएका छन् भने भारतले मात्र जम्मा संक्रमित संख्याको ३७ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै, विश्वमा करीब १४ हजार व्यक्तिहरूले ज्यान गुमाएका छन् भने जम्मा मृत्यु संख्याको करीब १७ प्रतिशत भारतमा मात्र छ ।

पछिल्ला दिनहरूमा सबैभन्दा धेरै दैनिक संक्रमण देखिएको मुलुकमा भारत पहिलो स्थानमा उक्लिएको छ । भारतमा पछिल्लो २ दिनदेखिको आधिकारिक रिपोर्टले दैनिक संक्रमित ३ लाखभन्दा माथि निदान भएको छ, यसले के प्रस्ट पारेको छ भने कोरोना संक्रमणको दोस्रो छालको कर्व रकेट झैं प्रक्षेपण भएको छ र जनस्वास्थ्य संकटग्रस्त बनेको छ।

नेपालमा २०७६ माघ दोस्रो हप्ताको शुरूमा चीनबाट आएका एक व्यक्तिमा कोरोना पुष्टि भएपश्चात् करीब १५ महीनामा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार भन्दा बढी छ भने ३१०० भन्दा बढी  व्यक्तिहरूको ज्यान गएको नेपालको आधिकारिक तथ्यांकले देखाएको छ । नेपालको हालसम्मको परीक्षणमा कोभिड–१९ को मृत्युदर करिब १ प्रतिशत रहेको छ । तर विश्वमा हालसम्मको कोभिड–१९ को  मृत्युदर करिव २।१५ प्रतिशत रहेको आधिकारिक आँकडाले देखाएको छ ।

विगत चार दिनदेखि लगातार नेपालको दैनिक कोरोना संक्रमण दर भारतको भन्दा तुलनात्मक हिसाबले उच्च देखिनुले नेपालमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको र अब यो भारत झैं नियन्त्रण बाहिर जान सक्ने अड्कल गर्न सकिन्छ ।

वर्तमानमा कोरोना संक्रमण दोस्रो लहरको विश्लेषण गर्दा,

१० वैशाख २०७८, विगत २४ घण्टामा भारतमा १७ लाख ४० हजार कोरोना परीक्षण गर्दा ३ लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ, जुन परीक्षणमा कोरोना संक्रमण दर १९ प्रतिशत हुन्छ । साथै २ हजार २०० जनाभन्दा बढीको मृत्यु भएको तथ्यांक छ । जसले जनस्वास्थ्य अवस्था विकराल अवस्थामा पुगेको छ ।

त्यस्तै, विगत २४ घण्टामा नेपालमा ९ हजार ६६४ कोरोना परीक्षण गर्दा २ हजार ५५९ संक्रमित भएका छन् जुन परीक्षणमा कोरोना संक्रमण दर २६.५ प्रतिशत हुन्छ । विगत २४ घण्टामा नेपालको कोरोना संक्रमण दर भारतको भन्दा ७.५ प्रतिशत बढी भएको डाटा विश्लेषणले प्रष्ट पारेको छ ।

९ वैशाख २०७८ मा, भारतमा १६ लाख ५१ हजार कोरोना परीक्षण गर्दा ३ लाख १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ, जुन परीक्षणमा कोरोना संक्रमण दर १९ प्रतिशत हुन्छ साथै २ हजार १०० जनाभन्दा बढीको मृत्यु भएको तथ्यांक छ, जसले जनस्वास्थ्य अवस्था भयावह मोडमा पुगेको देखाउँछ ।

त्यस्तै, ९ वैशाख २०७८ मा नेपालमा १० हजार ४०० कोरोना परीक्षण गर्दा २ हजार ४०० भन्दा बढी संक्रमित भएका छन् जुन परीक्षणमा कोरोना संक्रमण दर २३.२ प्रतिशत हुन्छ । विगत २४ घण्टामा नेपालको कोरोना संक्रमण दर भारतको भन्दा ४ प्रतिशत बढी भएको डाटा विश्लेषणले देखाएको छ ।

त्यस्तै, ८ वैशाख २०७८ भारतमा १६ लाख ३९ हजार कोरोना परीक्षण गर्दा २ लाख ९५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ, जुन परीक्षणमा कोरोना संक्रमण दर १८ प्रतिशत हुन्छ एवं २ हजार जनाभन्दा बढीको मृत्यु घटनाहरू भएका छन् । नेपालमा ९ हजार ६०० कोरोना परीक्षण गर्दा २ हजार ३०० भन्दा बढी संक्रमित भएका छन् जुन परीक्षणमा कोरोना संक्रमण दर २४.४ प्रतिशत हुन्छ । अघिल्लो दिनको पनि नेपाल र भारतको कोरोना संक्रमण दर तुलना गर्दा नेपालको ६ प्रतिशतले उच्च छ ।

७ वैशाख २०७८ भारतमा १५ लाख १९ हजार कोरोना परीक्षण गर्दा २ लाख ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ, जुन परीक्षणमा कोरोना संक्रमण दर १७ प्रतिशत हुन्छ । नेपालमा ८ हजार ७०० कोरोना परीक्षण गर्दा १ हजार ७०० भन्दा बढी संक्रमित भएका छन्, जुन परीक्षणमा कोरोना संक्रमण दर २० प्रतिशत हुन्छ । यस दिनको पनि कोरोनाको संक्रमण दर तुलना गर्दा नेपालको कोरोनाको संक्रमण दर भारतको भन्दा ३ प्रतिशत बढी छ ।

विगत चार दिनदेखि लगातार नेपालको दैनिक कोरोना संक्रमण दर भारतको भन्दा तुलनात्मक हिसाबले उच्च देखिनुले नेपालमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको र अब यो भारत झैं नियन्त्रण बाहिर जान सक्ने अड्कल गर्न सकिन्छ ।

भारतमा, करीब ५० दिनअघि १७ फागुन २०७७ यता दैनिक १२–१३ हजार कोरोना संक्रमितबाट ३ लाख १४ हजारभन्दा बढी संक्रमित पुगेको अवस्था छ । जुन दैनिक संक्रमितको  संख्या २५ गुणा वृद्धि भएको छ ।

सोही अवधिमा दैनिक संक्रमण दर २ बाट १९ प्रतिशतमा उकालो लागेको छ जुन दैनिक संक्रमण दर ८ गुणा वृद्घि भएको छ । त्यस्तै, सोही अवधिमा ११८ दैनिक मृत्यु घटनाहरूबाट उल्लेखनीय वृद्घि हुँदै २४ घण्टा यता २ हजार १०० भन्दा बढीको मृत्यु घटनाहरू पुष्टि भएका छन्, जुन दैनिक मृत्यु घटनाको  संख्या  करीब २० गुणा वृद्धि भएको छ । कोरोना संक्रमणको दोस्रो छालले कोरोना कहर भारतमा नियन्त्रणविहीन बनेको र जनस्वास्थ्य गम्भीर मोडमा पुगेको यी तथ्यांकका दृश्यहरुले प्रष्ट पारेको छ ।

नेपालमा पनि, १७ फागुन २०७७ मा १०० भन्दा तल झरेको दैनिक कोरोना संक्रमित संख्याबाट २ हजार ४ सयभन्दा बढी संक्रमणको रिपोर्ट भएका छन् । यस अवधिमा दैनिक कोरोना संक्रमितको संख्या तुलना गर्दा ३० गुणा वृद्घि भएको छ भने संक्रमण दर २.५ बाट २४.४ प्रतिशतमा उक्लिएको छ । यस अवधिमा दैनिक कोरोना संक्रमण दर करीब १० गुणा वृद्घि भएको तथ्यांक विश्लेषण गर्दा देखिएको छ  ।

१० चैत २०७७ यता चार हप्ताको संक्रमणको तथ्यांक विश्लेषण गर्दा नेपालको संक्रमण दर करीब ६ गुणा र भारतको संक्रमण दर ४.५ गुणा वृद्धि भएको देखिएको छ ।

२६ चैत २०७७ यता दुई हप्तामा मात्र नेपालको संक्रमण दर करीब तीन गुणा र भारतको संक्रमण दर दुई गुणा वृद्धि भएको देखिएको छ ।

भारतमा कोरोना संक्रमणको पहिलो छालको उच्च बिन्दुमा पनि दैनिक १ लाखभन्दा कम संक्रमित भएका थिए । पहिलो छालको एक दिनको सबैभन्दा बढी संक्रमित संख्या १६ सेप्टेम्बर २०२० मा मापन गरिएको थियो, जहाँ ९८ हजार संक्रमित भेटिएका थिए ।

यदि नेपालको कोरोना संक्रमणको ट्रेण्ड भारत, जर्मनी र बेलायत झैं पछ्याउन हो भने दोस्रो छाल धेरै आक्रामक र विध्वंसकारी हुने निश्चित प्रायः छ । नेपालको हालको कोरोना संक्रमणको तीव्र वृद्घिको संकेतले दोस्रो छालले नेपालको वर्तमानको स्वास्थ्य प्रणालीलाई कडा चुनौती दिने प्रष्ट छ ।

भारतमा अहिलेको दोस्रो छालमा दैनिक संक्रमण पहिलो छालभन्दा तुलनात्मक हिसाबले उल्लेखनीय वृद्घि (तीन गुणा) ले कोरोना संक्रमणको दोस्रो छाल आक्रामक र गम्भीर भएको प्रष्ट छ ।

सेप्टेम्बर दोस्रो हप्ता पहिलो छालको अधिकतम बिन्दुमा भारतमा दैनिक १२०० को आसपासमा मृत्यु घटनाहरू रिपोर्ट भएका थिए, त्यतिबेला परीक्षणमा मृत्युदर १.२ प्रतिशत हाराहारीमा थियो भने अहिले दैनिक मृत्यु घटनाहरू दुई गुणा वृद्धि भएको छ भने परीक्षणमा मृत्युदर ०.६  प्रतिशत आसपासमा छ ।

जर्मनीमा दोस्रो छालको दैनिक संक्रमण पहिलो छालभन्दा चार गुणा बढी आक्रामक, दक्षिण कोरियामा दोस्रो छालको दैनिक संक्रमण पहिलो छालभन्दा दुई गुणा बढी र बेलायतमा तेस्रो छालको संक्रमण दोस्रो छालको संक्रमणभन्दा अधिक, दोस्रो छाल पनि पहिलो छालभन्दा बढी संक्रमणले कोरोनाको कहर विश्वमा विभिन्न चरणमा निरन्तर रहिरहने संकेत गरेको छ ।

नेपालमा गत असोज–कात्तिकमा  कोरोनाको उच्च संक्रमण मापन गरिएको थियो । कात्तिक ५ गते सबैभन्दा धेरै संक्रमित पत्ता लागेका थिए– २० हजार कोरोना टेस्टमा ५ हजार ७०० भन्दा बढी संक्रमित निदान भएका थिए । जुन परीक्षणमा कोरोना संक्रमण दर करीब २९ प्रतिशत थियो ।

यदि नेपालको कोरोना संक्रमणको ट्रेण्ड भारत, जर्मनी र बेलायत झैं पछ्याउन हो भने दोस्रो छाल धेरै आक्रामक र विध्वंसकारी हुने निश्चित प्रायः छ । नेपालको हालको कोरोना संक्रमणको तीव्र वृद्घिको संकेतले दोस्रो छालले नेपालको वर्तमानको स्वास्थ्य प्रणालीलाई कडा चुनौती दिने प्रष्ट छ ।

अझ, यस्तै द्रुत गतिमा संक्रमण वृद्घि हुँदै गएमा अबको दुई–तीन हप्तामा नेपालमा दैनिक ६ हजार माथि संक्रमित थपिने, परीक्षणमा ३०–४० प्रतिशत संक्रमण दर हुने र पहिलेको भन्दा उल्लेखनीय मृत्यु घटनाहरू घट्ने अनुमान गर्न सकिन्छ, जसले नेपालको हालको जनजीवन, सामाजिक र आर्थिक स्थिति र स्वास्थ्य प्रणालीमा नकारात्मक असर पर्ने आँकलन गर्न सकिन्छ ।

चीनको वुहानमा देखिएको सार्स–कोरोना भाइरस–२ को स्वरुप निरन्तर आनुवंशिक परिवर्तन हुँदै सयौं भेरियन्ट देखिएका छन् ।

शुरुको एल भन्ने भेरियन्ट  एस, भी र जी भन्ने भेरियन्टमा समय अन्तरालमा क्रमशः परिवर्तन हुँदै गए ।

जी भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक प्रोटिनमा आनुवंशिक उत्परिवर्तन भएर युके भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतमा डबल म्युटेन्ट भेरियन्टको उत्पत्ति भएका छन् ।

स्पाइक प्रोटिनमा भएको आनुवंशिक उत्परिवर्तनले भाइरसमा जेनेटिक संरचना परिमार्जित भई मानिसको कोषिकामा बाँधिने र भित्र छिर्ने क्षमता वृद्घि हुने भएकाले अधिक संक्रमण गराउन सक्ने प्रारम्भिक वैज्ञानिक तथ्य र प्रमाणले उल्लेख गरेका छन् । तुलनात्मक रूपमा पहिलो छालभन्दा बढी बेलायत, इटाली र इजरायलमा बालबालिकामा  कोरोनाभाइरसका नयाँ भेरियन्टको संक्रमणले यी तथ्यलाई पुष्टि गरेको छ ।

दोस्रो छालमा वैज्ञानिक अध्ययनले आनुवंशिक उत्परिवर्तन भई स्वरूप परिवर्तन भएका सार्स– कोभ–२ का यी नयाँ भेरियन्टहरू छिटो सर्न सक्ने (साविकको कोरोनाभाइरस भन्दा ३०–७० प्रतिशत तीव्र प्रसारण) क्षमता पुष्टि भएको साथै बालबालिकालाई अधिक संक्रमण गराउन सक्ने हुँदा कोरोनाको थप जोखिम यथावत् नै छ ।

कोरोनाभाइरसका नयाँ भेरियन्टले पहिलो छालभन्दा आक्रामक भएर संक्रमण गराउँदै वर्तमानमा दक्षिण एशियाका देश बंगलादेश, पाकिस्तान, भारत र नेपालमा उल्लेखनीय संक्रमण वृद्धिले दक्षिण एशियालाई कोरोनाको ‘हटस्पट’ बनाएको छ । साथै कोभिड–१९ का गम्भीर अवस्थाका बिरामीहरूको उचित व्यवस्थापनमा यस महामारीले कडा प्रहार गरेको छ ।

चीनले केही महत्वपूर्ण रणनीतिका साथ कोरोना महामारीलाई पूर्ण रूपमा नियन्त्रणमा राखेको छ  । जस्तै,

  • अनुशासित राज्य व्यवस्था र नैतिक अभ्यास पालना,
  • उचित जनस्वास्थ्यका नियम, मापदण्ड पालना गर्न हर समय स्वयम् नागरिक प्रतिवद्ध र जिम्मेवारी बहन
  • द्रुत परीक्षण र भेरियन्ट पहिचान प्रणाली
  • उन्नत प्राविधिक  (डिजिटल) सम्पर्क ट्रेसिङ र ट्रयाकिङ प्रणाली
  • अत्यधिक व्यवस्थित र प्राविधिक रूपमा विशिष्ट कोरोना प्रसारण र संक्रमणको प्रारम्भिक चेतावनी प्रणाली
  • कोरोना सम्बन्धित व्यवस्थित अध्ययन र अनुसन्धान कार्यहरूले नयाँ आयाम र मार्ग प्रस्तुत, वैज्ञानिक मूल्य मान्यतामा आधारित उपचार र व्यवस्थापन
  • उत्तम र द्रुत खोप जनअभियान
  • आपत्कालीन अवस्था (प्रकोप र रोग) सँग लड्न यथाशीघ्र तयारी र उदाहरणीय सामूहिक सहकार्य
  • महामारी पूर्ण नियन्त्रणमा बहुपक्षीय दृष्टिकोणसहित उचित आर्थिक संशाधनको प्रबन्ध प्राथमिकता गतिविधिमा सूचित गरिएको

चीनले जसरी कोरोनाको संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको छ, यसलाई महत्वपूर्ण उपलब्धि तथा उदाहरणको रूपमा लिनुपर्ने र यसबाट अरू देश र नेपालले पनि महामारी नियन्त्रणमा पाठ सिक्नुपर्ने हुन्छ । जुन वर्तमान परिस्थितिको अपरिहार्य कदम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment