Comments Add Comment

तिलोत्तमाका शैक्षिक संस्था अनिश्चितकालीन बन्द

छात्राको मृत्युबारे छानवीन गर्न समिति गठन

१२ वैशाख, बुटवल । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि तिलोत्तमा नगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरु अनिश्चितकालसम्म बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले आइतबारदेखि नै लागू हुनेगरी विद्यालय, कलेज, होस्टेल, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने र सबै प्रकारका परीक्षाहरु समेत स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले तिलोत्तमा–१, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययनरत छात्रा प्रतिमा सापकोटाको निधनबारे तीन दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन गर्न एक समिति गठन गरेको छ ।

तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डीबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानबिन समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

घटनाको निष्पक्ष छानबिन हुने भएकाले सम्बन्धित पक्षलाई धैर्य र संयमित रहन नगरपालिकाले अपील गरेको छ । छात्राको मृत्युपछि विद्यालय र मृतक परिवारबीच विद्यालयमा छात्राको शालीक बनाएर राख्ने र छात्राको नाममा १० लाख रुपैयांको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने सहमति भइसकेको छ ।

बैठकले नगरमा सञ्चालित सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने/नगराउने,बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गराउने निर्णय गरेको छ ।

विवाह, ब्रतन्ध, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु २५ जनाको उपस्थितिमा निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment