Comments Add Comment

विश्वभर लगाइयो एक अर्ब डोजभन्दा बढी कोरोना खोप

१२ वैशाख, काठमाडौं । विश्वभरका मानिसहरुले एक अर्ब डोज भन्‍दा बढी कोरोना खोप लगाएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीको तथ्यांक अनुसार शनिबारसम्म विश्वका २०७ मुलुकका मानिसहरुले एक अर्ब २९ लाख डोजभन्दा बढी कोरोना खोप पाइसकेका छन् ।

यद्यपि कोरोना संक्रमण भने रोकिएको छैन । शुक्रबार विश्वभर कोरोनाका ८ लाख ९३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । कोरोनाका नयाँ संक्रमितमध्ये भारतमा मात्र एक तिहाइभन्दा धेरै फेला परेका छन् । त्यस्तै थाइल्याण्डमा पनि पछिल्लो केही दिनयता निरन्तर कोरोना संक्रमण बढिरहेको छ ।

सन् २०१९ को अन्तिममा चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसको कारण अहिलेसम्म ३० लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ब्राजिलमा अप्रिल महिनामा मात्र अहिलेसम्म ६८ हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

विश्वभर मानिसहरुलाई दिइएको कोरोना खोपको डोजको संख्या एक महिनाभन्दा कम समयमा दोब्बर भएको हो । यद्यपि अझै पनि धेरै गरीब मुलुकले भने आफ्ना नागरिकहरुलाई कोरोना खोप दिन सकेका छैनन् । अहिले विश्वका सबैभन्दा उच्च आयस्तर भएका र विश्वको १६ प्रतिशत जनसंख्याको बसोबास रहेको मुलुकमा अहिलेसम्म दिइएकोमध्ये ४७ प्रतिशत खोप दिइएको छ । निम्न आयस्तर भएका भएका मुलुकमा भने यो संख्य ०.२ प्रतिशत मात्र छ ।

अमेरिकाले जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई पनि प्रयोगको लागि अनुमति दिएको छ । यसअघि यो खोप लगाउँदा रगत जम्ने समस्या देखिने आशंकाको कारण अस्थायीरुपमा यो खोपमा प्रतिबन्ध लगाइएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment