Comments Add Comment

कोरोनाबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु

१२ वैशाख, काठमाडौँ । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।

निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ जना पुगेको छ । कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड-१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए  ।

नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना सङ्क्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।

यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले महामारीका दौरान २५० जना चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिए । उनका अनुसार, नेपालबाहिर करीब पाँच हजार चिकित्सक र १५ हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment