Comments Add Comment

गोरखाका दुई विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरो

१२ वैशाख, गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।

उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको पाटनदेवी माविका प्रधानाध्यापक सन्तोष पोखरेलले बताए ।

‘यही वैशाख पहिलो हप्ताबाट केही विद्यार्थीलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले सबै कक्षाका अधिकांश विद्यार्थीमा यो समस्या देखिन थालेको छ ।’

समस्या भएका विद्यार्थीलाई विद्यालय नआउन भनिएको उनले बताए । ‘पठनपाठन नै बन्द गरेका चाहिं छैनौं, तर बिरामी बच्चालाई घरमै बस्न भनेका छौ, बाँकीलाई भौतिक दूरी कायम गराएर पढाइरहेका छौं,’ उनले भने ।

संस्कृत मावि तान्द्राङका प्रधानाध्यापक श्याम लामिछानेले पनि विद्यालयका करिब ५० प्रतिशत विद्यार्थी बिरामी परेको बताएका छन् । उनका अनुसार कक्षा ७ र ८ का विद्यार्थीमा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको छ । ‘पाँच दिन जति भयो विद्यार्थीमा यस्तो समस्या देखिएको, भोलि स्वास्थ्य शाखाको टोली आउँछ भन्नुभएको छ, अनि के हो पत्ता लाग्ला,’ उनले भने ।

विद्यार्थी बिरामी पर्न थालेपछि आइतबार गाउँपालिका स्वास्थ्य शाखाको टोली क्यामुन्टारको पाटनदेवी मावि पुगेर कोरोना परीक्षणका लागि ३१ जनाको स्वाबको नमुना संकलन गरेको छ ।

‘विद्यार्थीसँगै गाउँका केही मान्छेहरुमा पनि रुघाखोकी र ज्वरो देखिएको रहेछ, आज ३१ जनाको स्वाब संकलन गर्‍यौ, रिपोर्ट आएपछि कोरोना हो कि मौसमी फ्लू हो थाहा हुन्छ,’ स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment