+
+
Shares

मृत्युको ४ महिनापछि छोराले जिम्मा लिए जगेन्द्रको शव

अमृत सुवेदी अमृत सुवेदी
२०७८ वैशाख १२ गते २०:२६

१२ वैशाख, पोखरा । विप्लव समूहका तत्कालीन म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुनको शव साढे ४ महिनापछि बल्ल परिवारले जिम्मा लिएको छ ।

मंसिर २४ गते जिल्ला कारागार पर्वतमा उच्च रक्तचापले बेहोस भएका जगेन्द्रको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मंसिर २९ गते मृत्यु भएको थियो ।

जगेन्द्रलाई विभिन्न आरोपमा प्रहरीले पटक पटक पक्राउ गरेको थियो । अदालतले छाड्न आदेश दिने र त्यसको लगत्तै प्रहरीबाट पक्राउ पर्दै आएका जगेन्द्र कारागारमै ढलेपछि नियत नै साँधेर उपचारमा ढिलाइ गरिएको, राज्यकै कारण ज्यान गएको भन्दै परिवारले शव बुझ्न मानेको थिएन ।

विप्लव नेतृत्वको माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किइसकेकाले आफ्ना माग सरकारसँग राख्ने र अहिले शव बुझेर अन्त्येष्टि गरिएको उनका छोरा तेजेन्द्रले जानकारी दिए । आफ्ना माग सुनुवाइ नभएको र मृत्युको यथार्थ जानकारी पनि नपाइएको उनको गुनासो छ ।

‘कुन समयमा ढल्नुभयो, कतिबेला अस्पताल पुर्‍याइयो ? विरामीलाई कहाँ कहाँ डुलाइयो भन्नेसम्म पनि जानकारी पाएनौं,’ छोरा तेजेन्द्रले भने, ‘राज्यकै कमजोरीका कारण बुवाको मृत्यु भएको हाम्रो ठम्याइ हो । सरकारले कुनै वास्ता नगरेपछि शव बुझेर अन्त्येष्टि गरेका छौं ।’

राज्यले परिवारलाई पछि माग सम्वोधन गर्ने आश्वासन भने दिएको उनले बताए । ‘हामीले ठूलो माग राखेकै थिएनौं । यथार्थ जानकारी दिइयोस्, न्याय दिइयोस् भनेका थियौं तर निमुखाको राज्य रैनछ,’ जितेन्द्रले भने ।

जगेन्द्रका परिवारको विषय संघीय सरकारसँग सम्बन्धित भएकाले यहाँबाट त्यस्तो कुनै सम्झौता भने नभएको कास्की कारागार प्रमुख काजीमान सुनारले जानकारी दिए । ‘शव बुझ्न आउनुस्, तपाईंहरुको माग सरकारसँग हो भनेर पत्र पठाएपछि उहाँहरु आउनुभएको हो,’ उनले भने, ‘परिवारले शव बुझेर पोस्टमार्टम गरेपछि उनका आफन्तले अन्त्येष्टि गरेका छन् ।’

सुनियोजित रुपमा राज्यको कारणबाट जगेन्द्रको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमै थन्किएको थियो । साढे ४ महिनापछि परिवारले शब बुझेर पोखरा सेती रामघाटमा अन्त्येष्टि गरेको छोरा जितेन्द्रले जानकारी दिए ।

पर्वत कारागारमा ढलेपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको थियो । पक्राउ पर्दै, छुट्दै, फेरि पक्राउ पर्दै धरौटीसमेत बुझाउन नसकेपछि जगेन्द्र ७ महिनादेखि पर्वत कारागारमा थिए । उनी त्यो बेला ९ पटकसम्म पक्राउ परेको परिवारको भनाइ थियो ।

यहीबीचमा जगेन्द्रकी श्रीमतीको पनि मृत्यु भएको थियो । उनका छोराहरुले बुबा पटक पटक जेल परेको पीर, चिन्ताकै कारण आमाको पनि मृत्यु भएको बताउँछन् ।

म्याग्दीको मालिका गाउँपालिका– ३ अधिभारामा ९ फागुन २०७६ मा जगेन्द्र पक्राउ परेका थिए । जगेन्द्रलाई अभद्र मुद्धामा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनलाई चैत १८ गते १८ हजार रुपैयाँ धरौटीमा रिहा गरियो तर त्यसको लगत्तै गौ–वध मुद्धामा पक्राउ गरिएको परिवारले भनाइ थियो ।

सो मुद्धामा ५४ हजार धरौटी तिरेर १८ असोज २०७७ मा जगेन्द्रलाई रिहाइ गर्ने फैसला भयो । फेरि अभद्र मुद्धामा पक्राउ गरी जगेन्द्रलाई थुनामा राखिएको र १ लाख १८ हजार धरौतीमा रिहाइ गर्ने फैसला भएकोे परिवारको भनाइ छ ।

धरौटी तिर्ने रकमसमेत नभएपछि जगेन्द्रको नाममा रहेको जग्गा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पत्रअनुसार मालपोतमा जग्गा रोक्का गरी उनलाई रिहाइ गरिएको थियो ।

अभद्र मुद्धामा पक्राउ परेका जगेन्द्रलाई जिल्ला अदालत पर्वतले ५४ हजार रुपैयाँ धरौटीमा रिहाई गर्ने फैसला गरेको र धरौटी तिर्न नसकेपछि थुनामा राख्ने आदेश भएको परिवारले बताएको छ ।

अदालतले छाड्ने आदेश दिएर पनि धरौटी तिर्न नसक्दा फेरि जेल चलान भएका जगेन्द्रले घर फर्कनै नपाइ ज्यान गुमाए ।जगेन्द्रको मृत्युपछि भने रोक्का जग्गा फुकुवा भइसकेको छोरा जितेन्द्रले जानकारी दिए । जितेन्द्रका ४ छोरा छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?